arrow

एमाले र नेकपा एस निकट कर्मचारीहरुको अर्को लफडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
uml-ncp-as-karmachari.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारीहरुले संगठन दर्ता गर्ने विषयमा एमाले निकट र नेकपा (एस) निकट कर्मचारीहरुबीच लफडा भएको छ । एस निकट कर्मचारीहरुले गत फागुन २५ गते एकीकृत सरकारी कर्मचारी संगठन दर्ता गर्नको लागि श्रम विभागमा निवेदन दिएका थिए । 

निवेदनमा उनीहरूले १४ हजार ७ सय ५३ कर्मचारीहरुको हस्ताक्षर जुटाएका थिए । श्रम विभागमा लगिएको हस्ताक्षर अवैध भएको एमाले निकट कर्मचारीहरुको आरोप छ । यस विषयमा छानविन गर्न एमाले निकट कर्मचारीहरुले विभागमा निवेदनसमेत दिएका छन् ।  

‘संगठन दर्ता गर्न उहाँहरुले जुन जुन हस्ताक्षर प्रयोग गर्नु भएको छ ती हस्ताक्षरहरु असम्बन्धित व्यक्तिका छन् । करार र अस्थायी कर्मचारीहरुकोसमेत हस्ताक्षर गराइएको छ । हाम्रा संगठनका साथीहरुको हस्ताक्षर पनि उहाँहरुले दुरुपयोग गर्नु भएको छ’ एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले भने, ‘त्यसैले उहाँहरुको संगठन नै अवैध छ । यो दर्ता हुनै सक्दैन ।’ 

अवैध संगठनलाई श्रम विभागले संगठनको रुपमा मान्यता दिनै नसक्ने कोइरालाको दाबी छ । एस निकट कर्मचारीहरुको संगठनलाई कानूनी मान्यता नदिन आग्रह गर्दै कोइराला लगायतका कर्मचारी नेताहरू शुक्रबार विभाग पुगेका थिए । 

यता नेकपा (एस) निकट कर्मचारीहरूको दाबी भिन्दै छ । एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले एमाले निकट कर्मचारीहरूको निवेदनले आफूलाई केही फरक नपर्ने बताए । 

‘कानून अनुसार प्रक्रिया पूरा गरेर संगठन दर्ताको लागि निवेदन दिएको छौँ । सोमबार विभागले हामीलाई संगठन दर्ताको प्रमाण पत्र दिदैछ’ घिमिरेले भने, ‘त्यसैले उहाँहरुको यस्तो कुतर्कको कुनै अर्थ छैन ।’ 

घिमिरले भने, ‘कानून अनुसार संगठन दर्ता गर्न ५ हजार हस्ताक्षर भए पुग्छ । हामीले त्यसको दोब्बरभन्दा बढी १४ हजार ७ सय ५३ जनाको हस्ताक्षर जुटाएका छौँ ।’ 

एमाले फुटे लगत्तै एमाले निकट कर्मचारीहरु फुटेका हुन् । नेपाल निजामती कर्मचारी संगठन विभाजित भएपछि संगठनको भवन कसले कब्जा गर्ने भन्ने विषयमा पनि केही महिनाअघि एमाले र एस निकट कर्मचारीहरुवीच तनाब भएको थियो । 

अहिले एस निकट कर्मचारीहरुले भवन विभाग परिसरभित्र आफ्नो कार्यालय राखेका छन् । एमाले निकट कर्मचारीहरु भने पुरानै भवनमा बसेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ