arrow

केपी ओलीले टीका लगाएर नेतृत्व छानेपछि कर्मचारीमा भाँडभैलो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
lekhnath-koirala-uml-karmachari-president.jpg

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीकै शैलीमा एमाले निकट कर्मचारीहरूको नेतृत्व टीका लगाएर छानेका छन् । केही दिन अघिमात्र उनले एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीको नेतृत्व यसरी नै छानेका थिए । 

आफूले मन पराएको कर्मचारीलाई जसरी भए पनि अध्यक्ष बनाउनु पर्ने भएपछि ओलीले चुनाव हुन दिएनन । जब कि चुनाव गरेर नेतृत्व छान्न अधिकाशं कर्मचारीहरुको माग थियो । 

ओलीले टीका लगाएर नेतृत्व छानेसँगै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको महाधिवेशन सकिएको छ । महाधिवेशनमा लेखनाथ कोइराला अध्यक्षमा छानिएका छन् । यसअघि उनी सो संगठनका वरिष्ठ उपाध्यक्ष थिए । 

संगठनको अध्यक्षमा दोहोरिन केदार देवकाटोले निकै प्रयास गरेका थिए । तर ओलीको रोजाइमा कोइराला परेपछि देवकोटाको प्रयास खेर गएको छ । 

उपाध्यक्षमा भवानी दाहाल, रेमन्त गौतम र प्रभाष साह छानिएका छन् । महासचिवमा जीवन काफ्ले चुनिएका छन् । उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्ण केसी र विजयालक्ष्मी सुवेदी चुनिएका छन् । 

यसैगरी स्चिवमा वामदेव वली, सूर्य कुँवर, देवेन्द्र ढकाल, तेजबहादुर भण्डारी, विष्णु अधिकारी र पुरुषोत्तम रायमाझी चयन भएका छन् । कोषाध्यक्षमा गणेशप्रसाद आचार्य चयन भएका छन् । 

संगठनको विधानमा संगठनको केन्द्रीय सदस्य हुनको लागि कम्तीमा एक पटक जिल्ला सदस्य या पदाधिकारी हुनु पर्ने व्यवस्था छ । 

यसैगरी आधिकारिक टे«ड युनियनको जिल्ला सदस्य या पदाधिकारी भएको व्यक्ति केन्द्रीय सदस्य हुन पाउने व्यवस्था गरिएको छ । तर ओलीको हातबाट चुनिएका आधा जति केन्द्रीय सदस्यहरु यो नियम पूरा नगरेर नियुक्ति भएका छन् । यस विषयमा संगठनभित्र तीव्र असन्तुष्टि बढेको छ । 

एक सय ५१ सदस्यीय केन्द्रीय समितिमा झण्डै ४० जना केन्द्रीय सदस्यहरु विधानको उक्त नियम पूरा नगरेरै चुनिएका छन् । केही केन्द्रीय सदस्यहरू भने लगातार दोहोरिएका छन् । 

प्रकाश निरौला, गोविन्द शिवाकोटी, होम खड्का लगायतका व्यक्ति दोश्रो पटक केन्द्रीय सदस्यमा दोहोरिएका छन् । गोविन्द शिवाकोटी, उमेश पराजुली लगायतका कर्मचारीहरु भने पहिलो पटक केन्द्रीय सदस्य हुन् । 

अघिल्लो महाधिवेशनमा खुलाबाट दोश्रो स्थानमा सबैभन्दा बढी भोट ल्याएकी देवी पराजुलीलाई यसपटक समावेशीमा राखिएको छ । यसबाट आफूलाई अपमान गरिएको उनको बुझाई रहेको पराजुली निकट एक कर्मचारीले बताए । 

एमाले निकट एक जना कर्मचराी नेताले भने, ‘यसपटक केन्द्रीय सदस्य चयन गर्दा ठूलो आर्थिक चलखेल भएको छ । खासगरी नयाँ केन्द्रीय सदस्यहरूबाट झण्डै एक लाख रुपैयाँसम्म लिइएको छ ।’

ती कर्मचारीले भने, ‘तर यस बारेमा कोही बोल्दैनन् न रुपैयाँ दिने बोल्छन् न रुपैयाँ बुझाउने बोल्छन् ।’

नेकपा (एकीकृत समाजवादी) सँग निकट मानिएका रेमन्त गौतमलाई अध्यक्ष बनाउने आश्वासन दिएर एमाले निकट कर्मचारी खेमामा लगिएको थियो । तर यसपटक उनलाई उपाध्यक्ष दिएर चित्त बुझाइएको छ । यसअघि उनी निजामती कर्मचारी संगठनको महासचिव थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ