arrow

लागूऔषध कारोबारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
drugess-jhaoa.JPG

बनियानी । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागूऔषध ब्राउन सुगर सहित शनिवार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा-४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजवंशीलाई शनिवार  इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट चार ग्राम ब्राउन सुगर सहित र सार्कीलाई सोही दिन अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले घरमै दुई ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ
जलेश्वर- महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला-५ बस्ने ३५ वर्षीय हरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

हरेन्द्र साहले गाँजा बिक्री वितरणको कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा शनिवार साँझ इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा प्लास्टिकमा बेरेर जेब्रा झोलामा लुकाई छिपाइ राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो । गाँजा बरामद भएसँगै कारोबारी हरेन्द्रलाई पनि प्रहरीले घरबाटै पक्राउ गरेको छ भने निजउपर आवश्यक कारबाहीको तयारी भइरहेको जनाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ