arrow

प्रथम प्रदेश खेलकुद प्रतियोगिता हेटौंडामा शुरु

logo
रविन्द्र गौतम
प्रकाशित २०७८ फागुन २९ आइतबार
275392694_705036730535089_550962532074110921_n.jpg

हेटौंडा । हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको शनिबार साँझ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

हेटौंडा स्थित पिप्ले क्याम्पा रङ्गशालामा मुख्यमन्त्री पाण्डेले धावक वैकुण्ठ मानन्धरलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनीसँगै ओलम्पियन दीपक विष्ट, संगीना वैद्य र कान्छिमाया कोजु सहभागी थिए ।

सेना, प्रहरी, खेलाडी तथा विद्यार्थीहरूले मार्चपास तथा झाँकी प्रदर्शन गरेका थिए ।कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ,प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल,प्रदेशका मन्त्रीहरू,प्रदेश खेलकुद परिषद्का पदाधिकारीको सहभागिता रहेको थियो ।

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा खेल समावेश गरिएको छ । फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराँते, एथलेटिक्स, बक्सिङ र ब्याड्मिन्टन खेललाई प्रतियोगितामा समावेश गरिएको छ । खेलहरू मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा हुनेछन् ।

मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, ब्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता हुनेछ । चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ ।

काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने काभ्रेमा ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङको प्रतियोगिता हुनेछ । प्रतियोगिताको समापन काभ्रेको धुलिखेलमा हुनेछ ।

प्रतियोगिताको लागि ८ करोड ४ लाख रुपैयाँ रकम खर्च हुने अनुमान गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ