नारी दिवसको अवसरमा नबिल बैङ्कको ‘नबिल एफडी कार्ड’ योजना
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
902
Shares
काठमाडौँ। नबिल बैङ्कले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरु गरेको छ। जस अन्तर्गत बैङ्कका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ।
नबिल एफडी कार्ड नबिल बैङ्कमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नहुने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरु गरिएको बैङ्कले जनाएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैङ्कले मार्च २०२२ मा कार्डका लागि आवेदन गर्ने ग्राहकहरूका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दै छ। प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन्। यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरू खरिद गर्नका लागिसमेत कार्डको प्रयोग गर्न सकिनेछ।
नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल–ग्राहकहरूलाई आफ्ना नजिकका परिवारका सदस्यहरूका लागिसमेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प–सुविधा प्रदान गरेको छ।
यस योजना अन्तर्गत २ लाख प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशतसम्म कार्ड सीमा प्राप्त गर्न सकिने बैङ्कले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
बैङ्कले भनेको छ, ‘यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भुत विशेषता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको बस्तुको मजा लिँदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशतका दरले लोभलाग्दो ब्याजसमेत आर्जन गर्न सक्नेछन्। यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैङ्कले विश्वास लिएको छ।’