अत्याधुनिक अमेरिकी पेस्तोलसहित बाँकेको राप्तीपुलबाट तीन जना पक्राउ
सौरभ गिरी,
प्रकाशित २०७८ फागुन १८ बुधबार
794
Shares
नेपालगञ्ज । जिल्ला प्रहरी बाँकेले अत्याधुनिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनकट्टी (क) कम्दी प्रहरीले मंगलबार राति ९ बजे डुडुवा गाउँपालिका ४ राप्ती नदीको पुल नजिकै गोली पड्किएको आवाज आएको भन्ने सूचना पाएका आधारमा प्रहरी नायब निरीक्षक गोपाल शर्माको कमान्डमा गएको प्रहरी टोलीले अत्याधुनिक अमेरिकी पेस्तोल र लोडेड गोली ७ राउन्डसहित तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका तीन जनालाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । गोली पड्किएको आवाज आएको खबर पाए लगत्तै प्रहरी नायब निरीक्षक शर्माको कमान्डको टोलीले त्यहाँ पुगेर चेकजाँच गर्दा नेपालगञ्जबाट राप्ती नदीतर्फ जाँदै गरेको प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडीमा राखिएको अवस्थामा ७ राउन्ड लोडेड गोलीसहित अमेरिकन पेस्तोल, एउटा खुँडा, २ थान नकसहित तीन जनालाई राप्ती पुलतर्फ जाँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।
जिल्ला प्रहरी बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज वडा नम्बर १२ बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी, नेपालगञ्ज १८ का २२ वर्षीय शुशान्त केसी र लम्कीचुहाँ नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीया द्वारिका उपाध्याय रहेका रहेका छन् ।
पक्राउ परेका तीनै जना शिवरात्रीका दिन बर्दियाको बाँसगढीस्थित शिव मन्दिर हुँदै बाँकेको पार्वतीपुर मन्दिरबाट फर्किएर द्वारिका उपाध्यायको राप्तीसोनारीको फत्तेपुरमा रहेको जग्गा हेर्न जाँदा अधिकारीले पेस्तोलमा गोली लोड गरी राप्ती पुलमा दुई राउन्ड गोली पड्काएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
बरामद गरिएको पेस्तोल अधिकारीले आफ्नो भएको बताएका छन् भने खुँडा केसीको र नक अधिकारीले आफ्नो रहेको बताएको जिल्ला प्रहरी बाँकेले बताएको छ ।
पक्राउ परेका एक युवा यसअघि पनि पटक(पटक आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरीले जानकारी दिएको छ । बाँके प्रहरीले उनीहरुसँग मुलुकी फौजदारी संहिता कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।