arrow

बैंकिङ र चेक अनादर कसूरमा भागेका चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
pakrau9.jpg

पोखरा । कास्की प्रहरीले विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूको खोजतलासका क्रममा तीन पुरुष र एक महिलासहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानूनी कारबाही तथा बाँकी कैद सजाय र जरिवाना असुलउपरका लागि बिहीबार नै कास्की जिल्ला अदालतमा बुझाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीबाट चार वर्ष पाँच दिन कैद सजाय र तीन हजार रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी रहेको छ।

पक्राउ परेकामध्ये दुई जना बैंकिङ कसुर तथा दुई जना चेक अनादर कसूरका प्रतिवादी रहेका छन्। उनीहरू लामो समयदेखि अदालतको फैसला कार्यान्वयनबाट फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको बताए।

नौ जना जुवाडे पक्राउ

कास्की प्रहरीले पोखरा महानगरपालिका-१४ नयाँ विमानस्थल क्षेत्रबाट जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३ गते दिउँसो करिब ४ बजे जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट ९१ हजार ५ सय ३५ रुपैयाँ नगद र एक हजार ८३ पत्ती तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका नौ जनाविरुद्ध जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जुवातास खेल्ने तथा खेलाउने गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ