प्रचण्ड र माधव नेपालबीच दुई पटक गोप्य छलफल, एमसीसीमा चलखेल
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १४ शनिबार
979
Shares
तस्बिर– फाइल
काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दुई दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गोप्य कुराकानी भएको छ । शनिबार दिउँसो र साँझ दुई नेताहरुबीच छलफल भएको स्रोतले जनाएको छ ।
शनिबार दिउँसो दुई नेताहरु आ–आफ्नो पार्टीको कार्यक्रममा जानुअघि र कार्यक्रम सकिएपछि साँझ भेटघाट गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा एमसीसी पास गराउने र त्यसका लागि सत्ता गठबन्धन दल माओवादी र नेकपा एसले सहयोग गर्नुपर्ने दबाब दिएपछि उनीहरु छलफलमा जुटेका थिए ।
मध्यान्ह सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरेका थिए भने साँझ खुमलटारस्थित प्रचण्ड निवासमा भेटघाट गरेको स्रोतको दाबी छ । भेटघाटमा माओवादी केन्द्रको तर्फबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ उपस्थित भएका थिए । यस्तै एकीकृत समाजवादीबाट नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी भएका थिए ।
आइतबार प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) माथि छलफल हुने भएपछि उनीहरुबीच गोप्य भेटघाट भएको हो ।
सत्ता गठबन्धनमा फरक मत राख्दै आएको दलका शीर्ष नेताहरूबीच भएको गोप्य भेटघाटमा देउवासँग पास गराउने गरी आफूहरुको भूमिका रहने विश्वास दिलाउने र गठबन्धनलाई कायमै राख्ने निर्णय भएको स्रोतको दाबी छ ।
प्रचण्ड र नेपालले त्यसो भने पनि सांसदहरुले भने विपक्षमा मतदान गर्न सक्ने भएकाले सांसदहरुलाई ह्वीप नलगाउनेसमेत सहमति गरेको स्रोतको दाबी छ ।
सत्ता गठबन्धनको अर्को दल नेपाली कांग्रेस पनि आन्तरिक छलफलमा जुटेको बेला दुई दलका नेताहरुले सो छलफल गरेका हुन् । पहिलो छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका उनीहरुले खासै सकारात्मक जवाफ नपाएको र एमसीसी पास हुने सुनिश्चितता खोजेपछि साँझ पनि प्रचण्ड–माधव नेपाल छलफलमा जुटेका थिए ।
सत्ता गठबन्धन दलकै दुई नेताहरुले असहमति प्रकट गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि ओली निवास बालकोट जानुअघि कांग्रेस आन्तरिक छलफलमा जुटेको थियो ।
देउवाले भरसक सत्ता गठबन्धन र त्यहाँ रहेका दलहरूको सहयोगमा एमसीसी संसदबाट पास गर्ने मनसाय राखेको भए पनि माओवादी र एस पार्टीका अध्यक्षले धोका दिएपछि बाध्य भएर बालकोट जानु परेको बताएका थिए ।
सत्ता गठबन्धनभित्र एमसीसीलाई लिएर चर्को विवाद र बहस हुँदै आएको अवस्थामा कांग्रेसले प्रमुख प्रतिपक्षको साथ खोजिरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरी एमसीसी पास गर्नुपर्ने भन्दै सरकारलाई अप्ठेरोमा पार्ने पक्षमा रहेका छन् ।
यही बीचमा एमालेलेसँगको संवाद पनि सकारात्मक नबनेको अवस्था रहेमा एमालेले संसद अवरोध राख्ने अवस्था कायमै छ । आफ्ना माग सम्बोधन नभएसम्म एमालेले एमसीसी पास गर्न नसक्ने बताउँदै आएको छ ।
एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कारबाही गरेको १४ जना सांसदलाई हटाउनु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाको विकल्प खोज्नु पर्ने माग राख्दै आएकाप्रति देउवा ती सबै मागका बारेमा छलफल गर्न तयार भएपछि विगत केही दिनदेखि प्रधानमन्त्री र एमाले अध्यक्षबीच निरन्तर संवाद चलिरहेको छ ।
खासमा प्रचण्ड–माधवले सदन बहिष्कार गर्ने भने पनि सांसदले विपक्षमा मतदान गरेर एमसीसी असफल बनाउने गोप्य एजेण्डा रहेको स्रोतको दाबी छ ।