arrow

"हरिचरण सिटौलाको सुकीर्ति" र यस भित्र बल्झिएका इतिहास अनि वर्तमानका अनेकौँ सवालहरू–

logo
गोपीकृष्ण प्रसाई,
प्रकाशित २०७८ फागुन १४ शनिबार
hari-charan-sitoula-book-cover.jpg
फाइल तस्बिर

समाजसेवी एवम् शिक्षा प्रेमी हरिचरण सिटौलाको सुकिर्ती पढ्ने अवसर मिल्यो, सर्सर्ती हेरिसकेपछि मनमा एउटा गज्जबको तरङ्ग पैदा भयो, त्यही तरङ्ग भित्र देखिने अनेकौँ काल्पनिक छालहरूले मलाई तमोर, काबेली सम्म पुर्‍याए, आफ्नै गाउँ, बस्तीमा गुन्जिएका सुनौला संस्मरणहरूले साँच्चै नै नोस्टाल्जिक बनाउँदा रहेछन् र म भावनाको गङ्गामा चुर्लुम्म डुब्न पुगेँ ! गङ्गाप्रसाद उप्रेती र राधिका दाहाल द्वारा सम्पादित यो कृतिलाई नइ प्रकाशन द्वारा प्रकाशित गरिएको छ, पाँच सय रुपियाँ मूल्य राखिएको यो वजनदार कृति ६९४ पृष्ठको छ । कृतिको आवरण सुन्दर छ ।

यस कृतिलाई विभिन्न पुस्ताका लेखक, पत्रकार, साहित्यकार, राजनीतिज्ञ, समाजशास्त्री, शिक्षाविद् र सामाजिक अभियन्ताहरूको कलम अनि आफ्ना अभिमतहरूले सिङारेको पाइन्छ । कृति एक निष्ठावान्, समाजसेवी, शिक्षा प्रेमी र सामाजिक अभियन्ता अनि पथप्रदर्शकको जीवनको उकाली, ओराली, अविश्रान्त सङ्घर्ष, समाज र राष्ट्र प्रतिको इमान अनि उनले तयार गरेका शैक्षिक क्रान्तिका दस्ताबेजहरू बोकेर आएको छ। मैले आठराईमा सुनेका चर्चित नामहरूमा कर्मयोगी हरिचरण सिटौलाको नाम अग्रपङ्क्तिमा आउँछ । सिटौलाले जहानियाँ राणा शासन कालमा शैक्षिक उत्थानमा गरेका कठिन त्याग अनि साधना र आफ्नो व्यक्तिगत सुखसयललाई तिलाञ्जलि दिएको प्रसङ्ग सम्झिँदा जोसुकैको मनमा सुन्दर विचार,सुन्दर कल्पना र भीषण ऊर्जा जागेर आउँछ, उनले जुनसुकै वर्ग, समुदाय अनि सिद्धान्तका मान्छेहरूलाई आफ्नो इमानको उचाइले फतक्कै गलाईदिन्छ्न अर्थात् हरिचरण आफ्नो निष्ठा र इमानका अभूतपूर्व मान्छे हुन । हरिचरणको वयस्क जीवनले भोगेको युग राणाकालीन युग थियो, हरिचरणको वयस्क जीवनको युग नेपालको शैक्षिक जगतमा लगभग अँध्यारो युग थियो, त्यति बेलाको समाज सतिप्रथा बाट मुक्त भए पनि बहुविवाह, बालबिबाहा, जातिपाति, छुवाछुतबाट मुक्त भैसकेको थिएन । शिक्षा बेगरको सामाजिक परिवेश अनि धर्मान्धताले जकडिएको थियो भन्दा अतिशयोक्ति नहोला । हरिचरण एक सज्जन, सरल इमानदार र हक्की स्वभावका शालीन छवि थिए, उनलाई शैक्षिक जागरणमा  साथ दिने मुख्य पात्र पदमप्रसाद उप्रेतीलाई यहाँ जोड्नै पर्ने हुन्छ, उप्रेती यस्ता पात्र हुन्, जसले हरिचरणका हर कदमहरूमा साथ दिएको देखिन्छ । काँधमा काँध मिलाएर अघि बढेको देखिन्छ,अर्थात् दुवै जना आठराई चुहानडाँडाका यी कुमाईंहरूको लय,ताल अनि सुर मिलेको थियो, आठराई चुहानडाँडा मात्र नभएर सम्पूर्ण आठराईका बस्ती भरी मीठो शैक्षिक साङ्गीतिक माहौलले शैक्षिक जागरणका गीतहरू घन्किरहेको आभास हुन्थ्यो । पूर्व तेह्रथुम चुहानडाँडामा वि.सं १९७८ सालमा बुबा द्रोणाचार र आमा बछलादेवी सिटौलाको कोखबाट जन्मिएका हरिचरण सिटौला आफ्नो सम्पूर्ण जिन्दगी शैक्षिक जागरणमा लगाएकै कारण पूर्व आठराईमा शिक्षाका धरोहर बनिए, शिक्षाका ज्योति ठहरिए, उनी एक अब्बल र निस्वार्थ कर्मयोगी ठहरिए, बुबा द्रोणाचारको इच्छा विपरीत काठमाडौँमा जागिर नखाएर गाउँ फर्के पनि उनले स्थापना गरेका शारदा मावि चुहानडाँडा र तेह्रथुम बहुमुखी क्याम्पसको शैक्षिक ज्योतिको दियोले दिएको अपार आनन्दको तापले तिनै द्रोणाचार पनि पग्लिएर पानी पानी भएका थिए, अनेक सपना बिपनामा आउने तमोर कावेलीका छालहरूको शीतल स्पर्शमा रमाएका थिए !

गोपीकृष्ण प्रसाई

हरिचरण सिटौलाको कृतिभित्र डुब्नु पूर्व आठराईको शैक्षिक इतिहासमा थोरै भए पनि बल्झिनु जरुरी छ । आठराई क्षेत्र त्यस बेलाको सरकारले क्षेत्र विभाजन गर्दा पल्लो किराँत क्षेत्रमा पर्थ्यो। आठराई क्षेत्रमा १७ गाविसहरू पर्छन्, पहिले सबै गाविसहरू तेह्रथुम जिल्ला अन्तर्गत भए पनि २०३२ सालमा आठराईका ८ गाविसहरू ताप्लेजुङ जिल्लामा गाभिन पुगे, तर पनि आठराईको गुरुत्वभित्र यी १७ वटै गाविसहरू आज पनि रमाइरहेका छन् । यी १७ गाविसहरूले आफ्नो पहिचान भित्र आठराईलाई मालाझैँ उनेर लगाको आज पनि देख्न पाइन्छ । आठराई कुनै समयमा नेपालको शिक्षित क्षेत्रमा गनिन्थ्यो, आठराईका हरेक गाविसहरूले पढाइको महत्त्व अनि गरिमालाई बुझेका थिए,०७ सालको क्रान्ति पछि आठराईमा केही माध्यमिक विद्यालयहरू द्रुत गतिमा बनिए। प्रावि निमाविहरू त प्राय गाविस पिच्छे नै बनिएका थिए । तेह्रथुम, ताप्लेजुङका अन्य गाउँहरू भन्दा आठराई शिक्षामा अग्रणी थियो !  वीरेन्द्र इन्टर कलेज त इलाममा क्याम्पस बनिनु भन्दा केही समय अघि नै बनिसकेको थियो । आठराई जातीय सद्भावको नमुना हो, लिम्बू जातिहरूको बाहुल्य रहेको यो क्षेत्रमा सबै जात, जातिहरूको आपसी मित्रता, हार्दिकता अनि भाइचारा प्रगाढ भएर रहेको पाइन्छ, त्यसरी सबै सँग प्रेम बाँडेर बस्न सक्नु भनेको शैक्षिक स्तर बढेको कारणले पनि हो । हुन त अरू पनि धेरै सामाजिक कारणले पनि त्यो हार्दिकता झाङिएर गएकै हो तर शिक्षाको ज्योति पनि अर्का कारण हो, आठराईमा जन्मिएर शिक्षा क्षेत्रमा देन दिनेहरू थुप्रै छन्, तर म यहाँ हरिचरण सिटौलाको चर्चा गर्दैछु ।

आठराईमा शैक्षिक क्षेत्रमा देन दिनेहरू ०७ सालको क्रान्ति पछि प्रशस्तै निक्लेता पनि अग्रज व्यक्तित्वमा हरिचरण्को नाम नलिईकन धरै छैन, किनकि त्यस बेला आठराईबाट राजधानीमा आएर जागिर खाने धेरै व्यक्तिहरू थिए, उनीहरू राजधानी लगायत तराईका उर्वर क्षेत्रमा स्थापित भएर बसे, गाउँमा गएर चेतना अनि सर्वसाधारणको जीवन स्तर उकास्न लाग्नेहरू एकदमै थोरै थिए, ती मध्येका हरिचरणलाई अग्रपङ्क्तिमा लिन सकिन्छ किन कि उनले राजधानीमा राम्रै शिक्षा हासिल गरेर पनि सरकारी जागिरको सुविधा लिन छाडेर आफ्नो गाउँको बन्जर धर्तीलाई हराभरा बनाए, शिक्षाको अजर, अमर फुलको सौन्दर्यमा रमाए, अन्धकारमा चिराग जलाए ! हरिचरणकै सेरोफेरोमा लेखिएको यो पुस्तकले त्यस बेलाको आठराई को सामाजिक,सांस्कृतिक शैक्षिक अवस्थाको विस्तृत विवरण पेस गर्दै देशको राजनीतिक धरातल भित्र जनताको अनेकौँ छटपटी र बढ्दो आकाङ्क्षाको सिलसिलालाई विभिन्न कोणहरूबाट प्रस्तुत गरेको छ। हरिचरण जस्ता समाजसेवी र शिक्षा प्रेमीहरूको उत्साह अनि उमङ्गलाई साकार पार्न त्यस भेगका जनताहरूको दर्बिलो साथको पनि उच्च मूल्याङ्कन गर्नै पर्छ । हरिचरणको जीवन, उनको पारिवारिक दायित्व र सामाजिक इमानमा अडिएर उनले निस्वार्थ ढङ्गले आफ्नो मेहनत गाउँ अनि समाजको उत्थानमा अर्पण गरेका कुरालाई ख्यातिप्राप्त व्यक्तिहरू, लेखकहरू, साहित्यकारहरू, राजनेताहरू लगायत उनका परिवारकै सदस्यहरूले बडो मेहनतका साथ सग्लो रूपमा प्रस्तुत गरेका छन्। हरिचरण सानो इलाकामा जन्मिएर राष्ट्र अनि समाज उत्थानमा लागेका अग्लो र उपल्लो कोटीको चिन्तक र समाजसेवी र नेपाल राष्ट्रले गर्व गर्नु पर्ने व्यक्ति हुन्, उनकै अग्रजहरूले राणाकलामा पनि तमोर वारिपारि गर्न सहज होस् र त्यस भेगका जनताहरूलाई बन्द व्यापार अनि अन्य ठाउँमा आवतजावत गर्न सहज होस् भनेर सिटौलाको पुल निर्माण गरेका थिए।

तिनै सिटौला वंशमा फेरि हरिचरणको उदय भयो र उनले चुहानडाँडा मा शारदा मावि र वीरेन्द्र इन्टर कलेजको स्थापना गर्न नेतृत्वदायी र मुख्य भूमिका निभाए, आफ्नो पारिवारिक दायित्वलाई पनि सहज रूपमा अङ्गीकार गरेर समाजको खातिर अहोरात्र खट्ने अनि आफ्नो अभियानमा सफल हरिचरण सिटौलाको जति बयान गरे पनि कमै हुन्छ, आफ्नो ठाउँमा पढाउने शिक्षक नहुँदा दार्जिलिङ गएर शिक्षकको व्यवस्था गर्नु उनीहरूलाई उचित सम्मानका साथ त्यहाँ बस्ने प्रबन्ध गरी पारिश्रमिकको पनि व्यवस्था गर्नु निक्कै नै चुनौतीपूर्ण कार्य हो, हरिचरणको सबल नेतृत्वमा यो काम सफल भयो, आज त्यस भेगका हर पथहरूमा हरिचरण स्वर्गबाट अवतरित भएर उनका तिलस्मी पाइलाहरू अपार आनन्दका चालमा त्यतै हिँडिरहेका छन् भन्दा अत्युक्ति नहोला !

हरिचरण सिटौलाको सुकिर्ती भित्र पस्दै जाँदा सम्पादक द्वयको मेहनत अनि त्यहाँ भित्र छल्किएका स्रष्टाहरूको बोली अनि त्यस युगका अनेकौँ घटनाक्रम र हरिचरणको एकलव्य प्रयासभित्र बलिरहेका शैक्षिक जागरणका दीपहरू भेट्न सकिन्छ । त्यसै गरी हरिचरणको शैक्षिक अभियानमा साथ दिने सहयोद्धाहरूको इमानदार प्रयासका अनेकौँ विवरणहरू पनि पढ्न पाइन्छ । हरिचरणको आफ्नै लेखमा उनले अभिव्यक्त गरेका धारणाहरू यस्ता छन् – शारदा हाई स्कुल अनि कलेज निर्माणका खातिर योगदान गर्ने प्रमुख चन्दा दाताहरूमा हरिलाल थपलिया, पदमलाल थपलिया, द्रोणचार सिटौला, मेदिनीप्रसाद उप्रेती, प्रेमप्रसाद उप्रेती,वेदचार सिटौला,चन्द्रबहादुर लिम्बू,पृथ्वीबहादुर लिम्बू,गोपीचन्द्र उप्रेती,श्रीकृष्ण सिटौला,भोलानाथ सिटौला,गङ्गाप्रसाद थपलिया,देवीप्रसाद उप्रेतीलाई लिनु पर्ने हुन्छ, हरिचरण्ले आफ्नो लेखनमा पिताजीको इच्छा विपरीत सरकारी जागिर खान छोडेर गाउँमा फर्की समाजसेवा र शैक्षिक जागरणमा लगेको पल अनि सङ्घर्षमय सुनौला आयामहरूको फेहरिस्त प्रस्तुत गरेका छन् । यस कृतिभित्र हरिचरणका ज्येष्ठ सुपुत्र तथा प्रसिद्ध साहित्यकार मोहन सिटौलाको गज्जबको संस्मरण र इतिहासका अनेकौँ प्रसङ्गहरू नागबेली भएर आएका छन् । सिटौलाले २००७ सालमा पूर्व किराँत– लिम्बुवान क्षेत्रमा भएको विद्रोह, आतङ्क अनि सर्वसाधारणले भोग्नु परेका पिडालाई समेत राम्रै सँग उजागर गरेका छन् । त्यसै गरी उनले आठराईका खर्क, गोठ, गाम, बेँसी, खोला, नाला र हिमालको बयान गर्दै लेखमा लालित्य थपेका छन् । मिन्सिन्धापको भालु,रानीदलको प्रसङ्ग,जुत्ताको कथा,मिठाको बोट, न्यायाधीशको प्रसङ्ग, दहीको कथाले सिटौलाको लेख अत्यन्त मर्मस्पर्शी र सलल बगेर गएको देखिन्छ । सिटौलाले आफ्ना पिताजी हरिचरणको बयान गर्ने सिलसिलामा कामकाजी व्यक्ति,गाई बस्तुको नियमित स्याहार गर्ने कर्मयोगी भनेर चित्रण गरेका छन् । त्यस्तै मोहन सिटौलाले २००४, २००५ साल तिरै पिताजी सुत्ने कोठामै करिब २ सय पुस्तकहरू भएको कुरालाई पनि उल्लेख गरेका छन् । त्यस्तै सिटौलाले पिताजीले दार्जिलिङ, बनारस, काठमाडौँ आदि ठाउँमा गएर आउँदा घरायसी सामान बाहेक जहिले पनि १ ढाकर पुस्तक ल्याउने गरेको भन्ने प्रसङ्गले हरिचरणको शिक्षा प्रतिको मोह लगाव कति रहेछ भन्ने प्रस्ट हुन्छ। पुस्तक भित्र दृष्टिगोचर लगाउन थाले पछि अनेकौँ प्राज्ञिक, बौद्धिक व्यक्ति हरूका आफ्ना स्वतन्त्र विचार, धारणा अनि अभिमतहरूले पुस्तक सिङारेको पाइन्छ। प्राध्यापक एवं प्रसिद्ध साहित्यकार अभि सुवेदी हरिचरणलाई अत्यन्त सरल,स्वप्न द्रष्टा,उच्च कोटीका समाजसेवी भनेर चित्रण गर्छन्।

त्यस्तै चर्चित कम्युनिस्ट नेता नन्दकुमार प्रसाईँ उनलाई साहित्य, कला,संस्कृति प्रति अभिरुचि राख्ने एउटा प्राकृतिक सौन्दर्य रुपी स्रष्टा भनेर सम्झिन पुग्छन् । प्रसाईले हरिचरण जनताका मार्ग दर्शक,जनप्रिय मान्यजन हुनका साथै आशा र भरोसाका विश्वासपात्र भनेर उच्च मूल्याङ्कन गरेका छन् । हरिचरण सिटौलालाई आफ्ना स्मृतिभित्र ल्याउने क्रममा कपिल सिटौलाले उनको सामाजिक पक्षको उजागर गरे, कपिल भन्छन् –२०३४ सालमा फाक्चुवा खोलाबाट पाइप द्वारा पानी ल्याउनमा सबै भन्दा अग्रणी भूमिका हरिचरणको थियो।त्यस्तै कवीन्द्र सिटौला हरिचरणलाई समाजसेवी,नवयुगका अग्रगामी व्यक्तित्व र स्वयम् युग पुरुष भएको टिप्पणी गर्छन् । शारदा मावि चुहानडाँडाका प्रथम प्रधानाध्यापक कुलप्रसाद राई राणा कालमै निजामती प्रथम श्रेणीमा उत्तीर्ण गर्ने हरिचरण चुहानडाँडामा आधुनिक शिक्षा पद्धति सुरु गर्ने प्रमुख व्यक्ति भनेर आफ्नो विचार राख्छन् । हरिचरणका छोरा, तेह्रथुम जिल्ला पञ्चायतका पूर्व सभापति खगेन्द्रराज सिटौलाले आफ्नो लेखमा आफ्ना पितालाई एक अविश्रान्त साधक र पौरखी पुरुषको रूपमा चिनेको कुरा व्यक्ताएका छन्। कु सङ्गठन,कुविचार नयाँ नेपालको आधार होइन भन्ने हरिचरणको सिद्धान्त अनि समाजसेवा र सङ्गठनलाई मुलमन्त्र र सम्पत्ति मान्ने उनको आदर्शले आफूलाई सधैँ दिशा निर्देश गरेको कुरा प्रस्ट्याएका छन्। खगेन्द्र भन्छन् – नयाँ नेपालको सपना हरिचरणकै थियो, विकासको लागि अग्रगामी सोच र उत्साही जनताको सङ्गठनलाई उनले ठुलो धन ठानेका थिए।त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँको जीवनले प्रक्षेपण गरेको सबैभन्दा ठुलो मिसन हो सुसङ्गठित परिश्रमको फल मीठो हुन्छ, सबैभन्दा ठुलो सम्पत्ति सङ्गठन हो र सबै भन्दा ठुलो कार्य समाजसेवा हो भनेर आफ्नो अभिमत दिएका छन् ।

त्यस्तै गोपाल सङ्ग्रौला भन्छन् –हरिचरणले आफ्नो नासवान र क्षणिक जीवनलाई लामो समय सम्म आठराई बासीको मस्तिष्कमा राख्न सफल भए। शारदा उच्च माविका पूर्व शिक्षक जयानारायण सेढाईंले हरिचरणलाई पल्लो किराँत, तेह्रथुम जिल्लाको आठराईमा आधुनिक शिक्षाको ज्योति जगाउने व्यक्तिको रूपमा चित्रण गरेका छन् । पूर्व सभासद् डिल्ली सिटौलाले तत्कालीन समयका शैक्षिक तथा सामाजिक गतिविधिहरूमा संलग्न व्यक्ति मध्ये हरिचरण अग्रगामी, दूरगामी सोचाई भएको भनेर आफ्नो विचार राखेका छन् । त्यस्तै डिल्लीमाया सिटौला उप्रेतीले छोरीलाई पढाउनु पर्छ, छोरा, छोरीमा विभेद गर्नु हुँदैन भन्ने विशिष्ट चिन्तन बोकेको व्यक्तिको रूपमा हरिचरणलाई सम्झेकी छन् । डिल्लीराम सिटौला भन्छन् – सुसङ्गठित र सामाजिक बन, परिश्रमी बन, इमानदार बन, पारदर्शी बन भन्ने कुरालाई उनले जीवनको मूल मन्त्र मानेका थिए । तेजप्रसाद कन्दङ्वा हरिचरणलाई सम्झनामा यसरी राख्छन्–काठमाडौँको पढाई छोडेर स्कुल खोल्ने अठोट बोकेर गाउँ फर्किने हरिचरणकै कारण चुहानडाँडामा शिक्षा विकासको आधार खडा भयो। त्यही कुरालाई राजनेता तेजप्रसाद सिटौलाले उच्च मूल्याङ्कन गर्दै हरिचरणलाई महान् सामाजिक अभियन्ताको रूपमा चित्रण गरेका छन् । त्यस्तै डा. त्रिलोचन उप्रेती हरिचरणलाई चुहानडाँडाको उज्यालो भन्छन् भने देवी उप्रेती उनलाई सामाजिक कूटनीतिज्ञ र समतावादी व्यक्ति भनेर आफ्नो राय दिन्छन् ।

हरिचरण सिटौलाका सहपाठी, सहयोद्धा पं धरणीधर न्यौपाने हरिचरणलाई विद्यालय, क्याम्पसका जन्मदाता शिखर युग पुरुष भनेर सम्झिन्छन् । वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईँले गाउँमा पानीको अनिकाल लागेको बेला हरिचरणको अगुवाइमा पानीको धारा आएपछि त्यहाँका नारीले एक अँजुली पानी सूर्यलाई र एक अँजुली पानी हरिचरणलाई दिएको एक सुन्दर अनि मार्मिक प्रसङ्गलाई आफ्नो लेखमा समेटेका छन् । हरिचरण सिटौलाका छोरा चैतन्य सिटौलाले उनलाई शिक्षा प्रेमी,समाजसेवी व्यक्तित्व बाहिरी चुरो र अग्रगामी,प्रजातान्त्रिक चिन्तन र चरित्र भित्री चुरो भएको व्यक्ति भनेर आफ्नो अभिमत दिएका छन् । त्यस्तै हरिचरण सिटौलाका अनन्य मित्र पदमप्रसाद उप्रेती वीरेन्द्र इन्टर कलेज स्थापना गर्दाको पललाई यसरी सम्झिन्छन्– २०१८ सालमा म कलेजको प्रतिनिधित्व गर्दै स्वीकृतिको बिन्तिपत्र बोकेर काठमाडौँ सैनिक सचिव शेरबहादुर मल्लकोमा पुगेँ, राजा सँग भएका सबै कुरा सुनाएँ । बिन्तिपत्र ल्याएको छ भने देऊ राजा सम्म पुर्‍याइदिन्छु भने उनले । मैले बिन्तिपत्र दिएँ त्यसपछि राजाबाट कलेजको लागि स्वीकृति दिनु भन्ने आदेश भयो । आठ साल देखि  सुरुका दिनमा पदम प्रसाद उप्रेतीले विद्यालय व्यवस्था पनको सचिव पदमा रही आठ वर्ष काम गरेका थिए । चर्चित राजनेता परशुराम खापुङले तेह्रथुमको आठराई भेगमा शैक्षिक, सामाजिक अनि धार्मिक क्षेत्रमा हरिचरणले पुर्‍याएको योगदान अनि उनले सामाजिक सद्भाव राख्न खेलेको भुमिकाको उच्च मूल्याङ्कन गरेका छन्। त्यस्तै पीपी सिटौला भन्छन्–उनी एउटै कुरामा ईख लिएर सधैँ बसिरहने मान्छे थिएनन्, क्षमा गर अनि बिर्स भन्ने उनको धारणा थियो । प्रेम प्रसाद थपलियाले उनलाई  मृदुभाषी, समाज सुधारक,शिक्षा प्रेमी, भविष्य द्रष्टा सानो उचाइको ठुलो मान्छे भनेर तारिफ गरेका छन् । हरिचरण सिटौलाकी कान्छी श्रीमती मनमाया सिटौलाले उनलाई सम्झिने सिलसिलामा छोराहरू हेड मास्टर, क्यापस चिफ र जिल्ला सभापति हुँदा उहाँ औधी खुसी भएको कुरा व्यक्त गरेकी छन् ।

प्रा.भानुभक्त पोखरेल हरिचरण सिटौला एउटा सिङ्गो इतिहास नै हो भन्नुहुन्छ । साहित्यकार रबीमान लम्जेलले मावि र क्याम्पस खोलेर त्यो शैक्षिक वातावरण तयार गरी हजारौँ, हजार बालबालिकाको ज्ञानको ढोका उघार्ने हरिचरण र उनका सहयोद्धाहरूको तारिफ गरेका छन् । प्रसिद्ध साहित्यकार एवम् वीरेन्द्र इन्टर कलेजका प्रथम प्रिन्सिपल राजनारायण प्रधान उनको प्रशंसामा यसो भन्छन् –हरिचरण राम्रा थिए, उनको देश प्रेम र जन प्रेम बिछट्टै राम्रो थियो । त्यसैले मैले उनी सँग धेरै सिकेँ, धेरै जानेँ । उनी एउटा कुरा एकपल्ट बोल्थे तर पक्का बोल्थे । उनी चुहानडाँडाका धड्कन थिए, चुहानडाँडाको हृदय जितेर उनी बिते । त्यस्तै हरिचरणका माइला ज्वाइँ राजेन्द्र दाहाल आफ्नो ससुराले देखाएको समानताको बाटो, शिक्षाको प्रसार, आपसी मेलमिलापको लागि सहिष्णुता,अनुशासन र निष्पक्ष न्यायको अवलम्बन गर्नु आजका पुस्ताका लागि प्रेरक प्रसङ हुने कुरा बताउँछन् । यो पुस्तक तयार गर्ने मुख्य व्यक्ति र हरिचरणका परिवारकी माहिली छोरी राधिका दाहालको आफ्नो पिताको माया र उनी प्रतिको समर्पण कति छ भन्ने कुरा यत्रो विशाल र उम्दा पुस्तक तयार गर्न उनले बगाएको पसिना र अथक साधनाले देखाइसकेको छ । राधिका आफ्ना आफ्ना पिताले भनेका तीन वाक्यहरूलाई आज पनि मूल मन्त्र मानेर हिँडिरहेकी छन्।

१) काँडाले हान्नेलाई फूलले हान्नु विजय आफ्नो हातमा हुनेछ ।
२) सदा प्रसन्न रहने गर,सत्य र मिठो वचन बोल,बोलीलाई पैसा पर्दैन ।
३) सङ्गठन नै बल हो ।

रामानारायण प्रधान भन्छन्–कानुनका ज्ञाता हरिचरण मोहिवाल र जग्गा धनी बिचको विवादमा सधैँ मोहिवालाको पक्ष लिन्थे । हरिचरणकी जेठी श्रीमती लक्ष्मीदेवी सिटौला आफ्ना पतिलाई यसरी सम्झिन्छिन्–पारिवारिक काम भन्दा सामाजिक कामहरूमा अधिकांश समय व्याप्ति गर्ने उनले स्कुल, कलेज र समाजको विकासमा आफ्नो जीवन समर्पण गरेका थिए । त्यस्तै तेह्रथुम बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख भएर काम गरिसकेका वसन्तकाजी बुढाथोकी भन्छन्– आठराई चुहानडाँडाका प्रत्येक विद्यालय, महाविद्यालय, पाखा, पखेरा सम्पूर्ण समाज र प्रकृतिले उहाँहरूको(हरिचरण,पदमप्रसाद)सम्झनामा शुसेली हालिरहेको अनुभूति आज सबैले गर्छन् । प्रसिद्ध न्युरो सर्जन एवम् हरिचरणका कान्छा ज्वाइँ डा वसन्त पन्तले हरिचरणको पार्किन्सन्स रोगको प्रसङ्ग निकाल्दै आफ्नो भावना यसरी प्रकट गर्छन् –त्यस बेला उहाँको दिमाग अति नै गतिशील थियो,त्यो अर्ध निश्छल शरीरको मस्तिष्कचाहिँ उडिरहेको मैले आभास गरेँ । संवेदनशीलताले मलाई छिटो छुन्छ र मेरो जिन्दगी कति हद सम्म त्यसले डोर्‍याउँछ पनि । डा. पन्त भन्छन् – उहाँकै (हरिचरणको) प्रेरणाले मैले पीढी सम्बन्धी अध्ययन सुरु गरेँ,जापानमा गएर आफ्नो रिसर्च पूरा गरेँ । अहिले म सर्जनको रूपमा कार्यरत छु । त्यस्तै हरिचरणकी कान्छी छोरी प्रा.डा. विजय पन्त लेख्छिन्–हामी बुबा जस्तो जीवन बाँच्न सक्दैनौ तथापि बुबाको जीवनको सानो अंश आफू भित्र बचाउन सके समाजलाई सही दिशामा डोर्‍याउन पक्कै सकिन्छ । त्यस्तै उहाँको स्मृतिमा बल्झिएर डा. वेदप्रकाश उप्रेती आफ्नो धारणा यसरी बनाउँछन् –चुहानडाँडामा मोटर बाटो पुगेको हरिचरणले देख्न पाउनु भएन । मोटर बाटो पुर्‍याउन गाउँलेहरूको सहयोगमा मेरो पनि सहयोग रह्यो । हरिचरण हुनुहुन्न तर उहाँ बाट प्राप्त आशीर्वादले मलाई पछ्याइरहेको छ । उप्रेती भन्छन् –जातीय हिसाबले चुहानडाँडा एक मिश्रित गाउँ थियो र अहिले पनि छ । लिम्बू र तथाकथित दलितका छोरा छोरी पढ्न पठाएमा प्रत्येक लिम्बू विद्यार्थीलाई महिनाको एक रुपैयाँ र दलित विद्यार्थीलाई दुई रुपैयाँ दिने निर्णय गरियो । अहिलेको स्थितिमा हेर्दा त्यो त्यति महत्त्वपूर्ण कुरा नदेखिएला तर २००८ सालमा त्यो निर्णय एक क्रान्तिकारी र युगान्तकारी निर्णय थियो । यसरी प्रेरक निर्णय गर्ने कार्यमा हरिचरणको अग्रणी भूमिका थियो ।

त्यस्तै शङ्कर उप्रेतीले जीवनको उत्तरार्धमा भेटेपछि हरिचरण प्रतिको आफ्नो दृष्टिकोण यस्तो बनाए–हे आठराईमा शिक्षाको दियो जलाउने मध्येका अग्रज ! तिमीले जलाएको दियोको प्रकाश देश भरी फैलिरहन्छ,देशमा मात्र होइन विदेशमा पनि फैलिरहन्छ । शिवप्रसाद सिटौला हरिचरणलाई श्रमलाई महत्त्व दिने,श्रमलाई माया र श्रद्धा गर्ने अनि श्रमिक नै संसारमा ठुला हुन्छन् भन्ने कुरा सानै देखी सबैलाई बुझाउने व्यक्तिको रूपमा चित्रण गर्छन् । शेर बहादुर इङ्नाम भन्छन् अहिलेको भौतिकवादी समाजमा निस्वार्थ समाजसेवी जमिन् दार देवीप्रसाद उप्रेती, बहिदार गङ्गाप्रसाद सिटौला, हरिचरण सिटौला,पदमप्रसाद उप्रेतीको निस्वार्थ सेवाको कार्यले सबैलाई राष्ट्र सेवक बन्ने प्रेरणा प्राप्त होस् । रामप्रसाद सिटौला भन्नुहुन्छ उहाँले कहिल्यै पनि पद र प्रतिष्ठाको लागि कसैसँग प्रतिस्पर्धा गर्नु भएन । बरु आफू सामाजिक कार्यकर्ता बनेर काम गर्न रुचाउनु भयो र अरूलाई जिताउनु भयो ।

हरिकला चुँडाल हरिचरणलाई सबै मानवका मित्र रुपी ज्योति बनिसकेको भनेर आफ्नो मत राख्छिन् । त्यस्तै हरिभक्त बुढाथोकी हरिचरण सबैलाई बराबरी माया बाँड्न सक्ने, समान व्यवहार देखाउने न्यायका धनी भनेर टिप्पणी गर्छन् । प्राज्ञ हेमनाथ पौडेलका विचारमा हरिचरणले गरेको पुण्य कर्म वास्तवमा स्वार्थरहित थियो,त्यसको बदलामा उहाँले कहिल्यै पनि कुनै खालको फाइदा लिन चाहनु भएको थाहा भएन । सूर्य सुवेदी भन्छन्–जागिर खान पठाएको छोरो जागिर नखाई आएकोमा उस बेला उनका बुबा द्रोणचारलाई धेरै दुख लागेको थियो, तर रामचन्द्रले हनुमानलाई औषधि लिन पठाउँदा औषधि नभेटी औषधिको पहाडै बोकेर ल्याएझैँ जागिर नखाएको सट्टा जागिरको बोटै बोकेर ल्याएछौ भनेर हरिचरणका बुबा द्रोणचारले गरेको टिप्पणी आफैमा मार्मिक अनि अर्थपूर्ण छ ।

भुवनेश्वरी सिटौलाले आफ्नो ससुराको प्रेरणा अनि ऊर्जाको कारणले आफूलाई पढ्न सहज भएको कुरा व्यक्त गर्दै हरिचरण सिटौलाको छोरा, छोरी अनि बुहारी प्रति समान दृष्टिकोण रहेको कुरा व्यक्त गर्नु भएको छ । त्यस्तै तेह्रथुम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. भद्ररत्न बज्राचार्य भन्छन् – हरिचरणले २००२ सालमा दोकानडाँडा (आफ्नै घर) मा सुरु गरेको पाठशालालाई सात सालमा काठमाडौँ गएर स्थानीय बद्रीप्रसाद थपलिया र गङ्गाप्रसाद उप्रेतीको सहयोगमा शारदा मिडल स्कुलमा परिणत गरी सरकारी स्वीकृति प्रदान गराउनु भयो । पूर्णानन्द शर्माका अनुसार हरिचरण सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो,उहाँहरूकै कठोर मेहनत,त्याग र समर्पणकै कारण आठराईले प्राध्यापक,विशिष्ट डाक्टर, कुशल इन्जिनियर,प्राज्ञ,पाइलट,सफल जन सेवक र ख्यातिप्राप्त व्यक्ति हरू जन्माउन सफल भएको हो । बद्री ओली हरिचरणलाई सम्झने सिलसिलामा आफ्नो विचार यसरी राख्छन्।

हरिचरणकै पहलमा मेदिनीप्रसाद उप्रेती,पदम प्रसाद उप्रेती,लक्ष्मीप्रसाद उप्रेती,सुर्यकन्दङ्वा,धन कर्ण कन्दङ्वा,जयनारायण थपलिया आदिको सहयोगमा २०१७ सालमा चुहानडाँडामा कलेजको स्थापना भयो । त्यस्तै डा स्वामी प्रपन्नाचार्य हरिचरण सिटौला र धरणीधर न्यौपानेको तारिफ गर्दै लेख्छन्– हरिचरण सिटौला र धरणीधर न्यौपाने दुवैको संयुक्त प्रयासले आजको सक्रान्ती, चुहानडाँडाको सेरोफेरोमा शिक्षा र सामाजिक चेतनाको ज्योति झलमल्ल बलिराखेको छ। शैक्षिक जागरणको सुरुवातमा लेख, पढ गर्ने उपयुक्त साधन नभएको बेला उनका भाइ रघुनाथले मालिङ्गाका बलियो अनि भरपर्दो कलम आफूले बनाएको प्रसङ्ग निकाल्दै आफ्ना दाजु हरिचरणको कानुनी लेखापढीको कुरा समेत उप्काएका छन् उनी भन्छन् –अड्डाको हाकिमले हरिचरणको सही हेरेपछि अरू हेर्दैनथे अर्थात् हरिचरण स्रेस्तामा पनि अत्यन्तै सिपालु थिए।

यसरी यो धर्तीमा जन्मेका महान् समाजसेवीहरूको लिस्टमा हरिचरणले आफ्नो नाम दर्ज गराए । सबै समाजसेवीहरूले उस्तै र उत्तिकै योगदान दिन सक्छन् भन्ने होइन, आफ्नो ठाउँ र परिवेश अनि परिस्थिति अनुसार तन, मन, बचनले देश अनि समाजको खातिर अहोरात्र लाग्ने व्यक्ति हरू महान् हुन्, दीन, दुखीहरूको पिडामा मलहम लगाउनेहरू महान् हुन् । नेपालमा समाजसेवीहरूको चर्चा गर्दै गर्दा बाला गुरु खडानन्दको नाम अग्रपङ्क्तिमा आउँछ, १९३२ सालमै गुरुकुल स्कुलको स्थापना स्थापना गर्ने उनले आम जनताको लागि पाटी, पौवा, धारा, चौतारा स्थापना गर्नुको अलावा गुरुकुल अनि अन्य धार्मिक संस्थामा कुनै जातीय, छुवाछूतको भेद नगरी सबैमा उत्साह, ऊर्जा र जीवन ज्योति जगाउने काम गरेका थिए, त्यो राणाकलाको समय थियो । त्यस्तै दयानन्द सरस्वतीको आर्य समाज बाट प्रभावित भएर माधवराज जोशीले १९५३ मा आर्य समाजको स्थापना गरे, त्यस्तै तुलसी मेहर श्रेष्ठले चर्खा प्रचार अभियान चलाएका थिए भने अमर राज जोशीले मलामी गुठीको स्थापना गरे भलै यी संस्थाहरू राणाहरूको कोपभाजनको सिकार नभएका होइनन् तर त्यस्तो हिम्मत र जोस राख्नु त्यो बेला चानचुने कुरा थिएन।

पिताजी कृष्णप्रसाद कोइरालाले राणा कालमा विराटनगरमा आदर्श स्कुल खोलेर शिक्षा क्षेत्रमा उदाहरणीय काम गरेका थिए,विराटनगरमा हस्पिटल र उद्योगधन्दा खोल्ने कृष्णप्रसाद कोइरालाको विराटनगरलाई आधुनिक बनाउन सबै भन्दा उच्च योगदान छ । त्यस्तै भोजपुरमै जन्मिएकी योगमायाले पनि कुरीति, कुसंस्कार र विसङ्गति विरुद्ध आजीवन सङ्घर्ष गरिन,जुद्ध समसेरले उनका प्रगतिशील मागहरूको बेवास्ता गरेकै कारण आफ्नो अनुयायीका साथ जल समाधि लिएर तत्कालीन समाजलाई ठुलो चुनौती दिएकी थिइन । त्यस्ती विद्रोही अनि समाज परिवर्तनकी सुत्राधार नारीको कारण राणा शासनमै ठुलो खैलाबैला मच्चिएको थियो । त्यस्तै २००९ सलमा परोपकार अनाथालय, २०१६ सालमा प्रसूति गृह खोलेर उदाहरणीय काम गर्ने समाजसेवी दयावीर सिंह कंसकार नेपालमा रक्तदानको आरम्भ गर्ने व्यक्तिको रूपमा चिनिन्छन् । सिटौला पुल स्थापना गर्ने ब्रह्मलाल,विष्णुलाल सिटौला ठुला समाजसेवी हुन् । राणा कालमै तमोर नदीमा झोलुङ्गे पुल हालेर त्यस भेगका जनाताको जीवन स्तरमा सुधार ल्याई दुखका आँसु पुछ्ने प्रयत्न गरे उनीहरूले । १९८७ सालमै बनिएको त्यो पुल पूर्वी पहाडमै नमुना मानिन्छ । त्यस्तै आठराई त्रिवेणी गाउँ पालिका अन्तर्गत ५ नं वडामा १९३४ मा जन्मिएकी विष्णुमाया लिम्बुनीले आफ्नो स्वर्गीय पतिको सम्झनामा तमोर नदीमा झोलुङ्गे पुल निर्माण गरिन । ब्रह्मलाल सिटौलाहरूले पुल बनाए जस्तै ती एकल महिलाले ७५ वर्षको उमेरमा २००९ सालतिर त्यो पुल बनाउने उत्साह राखेर आफ्नो सामाजिक कर्तव्य पूरा गर्नु समाजसेवाको अनुपम नमुनाको रूपमा लिन सकिन्छ । त्यस्तै देशका समाजसेवीका उम्दा नामहरूमा भानुभक्त सिटौला, देवीप्रसाद उप्रेती, बद्रीविक्रम थापा,मृगेन्द्रराज पाण्डे,रामप्रसाद पोख्रेल,अङ्गुरबाबा जोशी,दिर्घराज कोइराला, लक्ष्मीनारायण प्रसाद,पं छविलाल पोख्रेल, भक्तकुमारी घले, त्रैलोक्यनाथ श्रेष्ठ,ठाकुरप्रसाद मैनाली, जङ्गबहादुर बोगटी, भिमबहादुर अधिकारी,उर्मिला गर्ग उपाध्याय,डा. सन्दुक रुइत, डा.गोविन्द केसी,रामनारायण श्रेष्ठ,प्रा. गणेशराज सिंह, अनुराधा कोइराला, पुष्पा बस्नेत, दीक्षा चापागाईँ,ओमप्रसाद गौचन,चुना तामाङ आदिलाई गर्वका साथ लिन सक्छौँ ।

हरिचरण एक महान् तपस्वी सरल, इमानदार र बन्जर धर्तीमा फुल फुलाउने एक स्वप्न द्रष्टा हुन् । कुनै ठुलो ठाउँमा बसेर मात्र मान्छे चर्चित हुँदैन, ठुलो देशमा जन्मेर मात्र मान्छे महान् बन्न सक्दैन । महान् बन्नलाई उसको सोच महान् हुनु पर्छ, विचार महान् हुनु पर्छ, उसको माया त्यहाँका सर्वसाधारण सँग भिजेको हुनुपर्छ, त्यहाँको माटोलाई आत्मसात् गरेको हुनु पर्छ, त्यही ठाउँ लाई आफ्नो ठानेर आफ्नो सर्वस्व सुम्पेको हुनुपर्छ, त्यो बनाउन दिन, रात खटेको हुनु पर्छ, हरिचरण त्यस्तै मान्छे थिए, आफ्नो गाउँलाई अति नै माया गर्ने मन्छे थिए, आफ्नो गाउँमा खानेपानी ल्याएर पिउने पानीको खातिर तड्पिनु पर्ने अवस्थाको यिनले अन्त्य गरेका थिए, शिक्षाको ज्योति छर्न स्कुल अनि क्याम्पस बनाएर उज्यालो क्षितिज को सूत्रपात गरेका थिए । त्यति बेला आधुनिक शिक्षाका पारङ्गत मान्छेलाई आठराई भित्र्याउने श्रेय हरिचरण सिटौला र पदमप्रसाद उप्रेतीलाई जान्छ, हरिचरणलाई दिलै देखि साथ दिने पदमप्रसाद उप्रेतीको चर्चा पुस्तकमा धेरै ठाउँ गरिएको छ, पदम प्रसादले पल पल बगाएका पसिनाहरूको पनि विभिन्न लेखकहरूले महत्त्वका साथ चर्चा गरेका छन्।

त्यसैले ती दुई भाइ हरू नै त्यस भेगका उज्ज्वल नक्षत्र रहेछन् भनेर बुझ्न सकिन्छ तर मुख्य नेतृत्वकर्ता हरिचरणनै हुन त्यसमा दुई मत छैन, हरिचरणको सङ्कल्प अनि डिजाइनबाट थप ऊर्जा अनि उत्साह सबैले थप्दै गएको देखिन्छ । हरिचरणले धेरै कुराहरू त्यागेर आफ्नो माटोलाई माया गरेका छन् । हरिचरणले सबै कुरा छोडेर आफ्नो धर्तीलाई स्वर्ग सम्झेर एकलव्य भई साधनामा रमाएको पलको धेरै लेखकले चर्चा गरेका छन् तसर्थ आठराईको शैक्षिक विकासको कुरा गर्दा अग्रपङ्क्तिमा उनको नाम आउँछ । उ नेतृत्व गर्ने व्यक्ति हुन, उ नेतृत्व गर्ने अभियन्ता हुन । पुस्तक पढेपछि थाहा हुन्छ उनले आफ्ना सन्तानलाई र गाउँका केटाकेटीलाई कति अनुशासन अनि मर्यादामा राखेर पढाएका र माया गरेका रहेछन्, इमानदारिताको कस्तो पाठ पढाएका रहेछन् । आफ्ना पिताले बनाएको स्कुल, क्याम्पसमा हरिचरणका छोराहरूले लामो समय सम्म काम गरे । मोहन सिटौला त अहिले पनि आठराईको सपना देख्छन् उनलाई संसारको स्वर्ग अनि धर्तीको साङ्ग्रिला आठराई नै लाग्छ रे, राधिका दाहालको त कुरा सुन्दा लाग्छ उनी प्रत्येक दिन सपनामा आठराई चुहानडाँडाको बारीमा डुलिरहेकी हुन्छिन् । यसरी यो पुस्तक हरेक व्यक्तिले पढ्नै पर्ने पुस्तक लाग्छ मलाई, यो पुस्तक आठराई बासीले त झन् पढ्नै पर्छ, आठराईको विकास अनि त्यहाँको शैक्षिक इतिहास बुझ्न यो पुस्तक कोशे ढुङ्गा साबित हुन सक्छ । आठराईको रहन, सहन अनि संस्कृति बुझ्न यो पुस्तक उपयोगी हुनेछ।

हरिचरण त एक प्रतीक मात्र हुन, उ त एक प्रतिनिधि मात्र हुन तर पुस्तकले सम्पूर्ण आठराईको वास्तविकतालाई उजागर गरेको छ, हरिचरण जस्तै जोस, जाँगर भएका अथक साधकहरूको कारणले आठराई नेपालको शैक्षिक क्षेत्रमा अब्बल साबित भएको हो । त्यहाँका धेरै कुराहरूको जानकारी पुस्तक पढे पछि पाउन सकिन्छ । हरिचरण अनि उनका सहयोद्धाहरूको बारेमा जान्न सकिन्छ । चुहानडाँडाको इतिहास पढ्न सकिन्छ, चुहानडाँडाको गतिशीलता बुझ्न सकिन्छ, चुहानडाँडा,ईवा र सक्रान्ती बजारको बारेमा धेरै कुराहरू बुझ्न सकिन्छ । यसरी हरिचरणलाई केन्द्रित गरेर लेखेको यो पुस्तक अति उपयोगी छ, आफ्ना संस्मरणहरू मार्फत धेरै लेखकहरूको आवाजले पुस्तक सङ्गीतमय बनेको छ । हरिचरण जस्ता महान् व्यक्ति हरू धर्तीमा आउनु पर्छ, बारम्बार आउनु पर्छ । आजका पुस्ताले यस्ता महान् समाजसेवीबाट प्रेरणा लिएर अघि बढ्नु पर्छ, समाज सुधार अनि समाज परिवर्तनका सुत्राधार हरिचरणलाई पढ्न यो पुस्तक पढ्नु पर्छ । पुस्तक पढेर अपार आनन्दको महसुस भइराखेको छ मलाई पनि । पुस्तकले हरिचरणलाई जीवित बनायो, एक महान् आत्मालाई अमर बनायो, चुहानडाँडालाई अजर,अमर बनायो । देश बनाउन खोज्नेहरूलाई उच्च नैतिकताको पाठ सिकायो । समाज परिवर्तनका संवाहकहरूलाई थप ऊर्जा प्रदान गर्‍यो । यस्ता सरस्वतीका पुजारी, जीवनभरि शिक्षाको समुन्नतिमा समर्पित महामानव उनन्चास साल माघ चौध गते सरस्वती पूजा कै दिन स्वर्गवास हुनु पनि अनौठो संयोग मान्नु पर्छ । इतिहासका महान् व्यक्ति हरिचरण सिटौला अमर रहुन् भन्दै उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु अनि ऐतिहासिक तसबिर सहित प्रशस्तै मेहनत गरेर तयार गरेको यस पुस्तकको भव्य सफलताको कामना गर्दछु।

लेखक, ३४-८४ जनपथ मार्ग, कामपा– २९, घट्टेकुलो,काठमाडौँका निवासी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ