सरकारले धितोपत्र बोर्डको अध्यक्ष चयन गर्दै, पाँच जना सर्ट लिष्टमा
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
564
Shares
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सर्ट लिष्टमा परेको छ। बोर्ड अध्यक्ष बन्नका लागि आवेदन दिएका १५ आवेदकमध्ये छनोट समितिले पाँच जनाको नाम सर्ट लिष्टमा तयार गरेको हो। नेपाली कांग्रेसको भागमा परेको बोर्ड अध्यक्षका लागि खगेन्द्र कटुवाल, डा. गोपाल भट्ट, कृष्णराज पोखरेल, निरज गिरी र रमेश हमाल सर्ट लिष्टमा परेका छन्।
हमाल पूर्व गैरआवासीय नेपाली हुन्। उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। कटुवाल त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका उपप्राध्यापक हुन्। पोखरेल अहिलेका उपकार्यकारी निर्देशक हुन् । गिरी अहिलेका कार्यकारी निर्देशक हुन्।
धितोपत्र बोर्डको अध्यक्ष कांग्रेसको र नेप्सेको सीईओमा माओवादी केन्द्रको भाग परेसँगै धितोपत्रको अध्यक्ष कांग्रेसी मध्येबाट चुनिन लागेको हो। नेप्सेको सीईओमा भने कृष्ण कार्की नियुक्त भइसकेका छन्।
यीमध्ये हमाल र कटुवाल अगाडि देखिएका छन्। यी दुईमध्ये एक नै धितोपत्रको अध्यक्ष बन्ने बताइन्छ। यद्यपि सर्ट लिष्टमा परेकाहरुलाई अन्तर्वार्ताका लागि आइतबार बोलाएर तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा पठाउने छनोट समितिको तयारी रहेको छ।
को हुन् कटुवाल ?
यीमध्ये अहिलेसम्म कुनै पनि विवादमा नआएका र पूँजीबजारलाई डेढ दशकदेखि प्रत्यक्ष रुपले बुझेका त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका उपप्राध्यापक कटुवालको सम्भावना प्रवल रहेको बताइएको छ।
पूँजीबजारमा अहिलेसम्म विभिन्न चलखेल भइराखेको अवस्था छ। विभिन्न स्टेक होल्डर्सहरुले आ–आफ्नो मान्छे अगाडि बढाएर सीमित व्यापारिक घरानाहरुको हस्तक्षेप बढ्ने देखिएको आरोप लागिरहन्छ।
यस्तो निकायमा स्वतन्त्र, निष्पक्ष भएर काम गर्ने र कुनै व्यापारिक स्वार्थसँग नजोडिएका कटुवालको सम्भावना प्रवल रहेको हो। कटुवाल अहिलेसम्म कतै पनि विवादमा परेका छैनन्।
उनी नेपाल सरकारको नीति निर्माण तहमा पनि जोडिएका छन् । अनुभवले खारिएका कटुवाल डेढ दशकदेखि त्रिविमा अध्यापनरत छन्। उनी सेन्टर फर रिसर्च एन्ड पोलिसी स्टडिज सोधशालाकाका कार्यकारी सदस्य, पब्लिक पोलिसी पाठशालाका बोर्ड सदस्य, नेपाल साउथ एसियन इकोनोमिक स्टुडेन्ट मिट नेपाल च्याप्टरका कार्यकारी सदस्य तथा नेपाल आर्थिक समाजका सदस्य हुन्।
त्रिविबाट स्नातकोत्तरमा अर्थशास्त्रका गोल्ड मेडलिष्ट कटुवाल हाल ‘नेपालमा मौद्रिक तथा वित्तीय नीतिको सम्बन्ध’ विषयमा त्रिविबाटै पीएचडी गर्दैछन्।
उनी नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागहरुमा परामर्शदाता तथा अनुसन्धानकर्ताको रूपमा डेढ दशकदेखि संलग्न रहेका छन्। जस्तै जस्तै अर्थ मन्त्रालय, उद्योग मन्त्रालय उद्योग तथा वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका अन्य मन्त्रालयहरुमा उनी संलग्न छन्।
उनले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरु जस्तै यूएनडीपी, बल्ड बैंक, एडीबी, यूएसएड, हेल्भाटेस, डब्ल्यूडब्ल्यूएफ, डीएफआईडी, ईसीमोड लगायतका संस्थाहरुमा एक दशक बढी समयदेखि अनुसन्धानकर्ता–परामर्शदाताको रुपमा अनुभव संगालिसकेका छन्।
विभिन्न खोज तथा अनुसन्धानमूलक लेख प्रकाशन गरेका कटुवालको उत्कृष्ट प्रदर्शन र क्षमताकै कारण नेपाल विद्याभुषण ‘ख’, तारापद चौधरी स्वर्णपदक, खगेन्द्र मानसिंह प्रधान स्वर्णपदक, सामना बैंकिङ पुरस्कार, स्टेप्स स्कलरशिप, साइतामा विश्वविद्यालय जापान, विश्वविद्यालय अनुदान आयोग छात्रवृत्ति लगायतका पदक, पुरस्कार एवं छात्रवृत्ति पाएका छन्।