४२ प्रतिशतबाट १६ प्रतिशतमा झर्यो कोरोना संक्रमण दर
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
587
Shares
काठमाडौं। पछिल्लो एक साता (माघ २१ देखि २८) गतेसम्मको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण दर करिब १६ प्रतिशत देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो एक साताको अवधिमा ८१ हजार १ सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।
नमुना परीक्षण गरिएकामध्ये १२ हजार ९ सय २३ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा संक्रमण दर १५.९३ अर्थात् करिब १६ प्रतिशत देखिएको हो ।
यो एक साताको अवधिमा ४३ हजार १ सय ६४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् भने, ८६ जना संक्रमितको मृत्यु भएको छ ।
दुई साताअघि अथवा माघ पहिलो सातामा कोरोना भाइरसको संक्रमण दर ४२ प्रतिशत रहेको थियो ।
माघ १ गतेदेखि ७ गतेसम्ममा १ लाख ४३ हजार ९ सय ६० जनाको नमुना परीक्षण गरिएको थियो ।
तीमध्ये ६० हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको थियो । सो तथ्याङ्क अनुसार माघ पहिलो साता संक्रमण दर निकै नै उच्च ४२.३६ प्रतिशत थियो । यो अवधिमा ३ हजार ९ सय २२ जना संक्रमणमुक्त भएका थिए भने, २२ जनाको मृत्यु भएको छ ।
संक्रमण दर घटे पनि पछिल्ला ७ दिनमा मृत्यु हुनेको सङ्ख्या माघ पहिलो साता भन्दा झन्डै चार गुणा बढी छ । पछिल्ला ७ दिनमा ८६ जनाको मृत्यु भएको छ, जुन किन माघ पहिलो साता २२ जना संक्रमितको मृत्यु भएको थियो ।
गत महिना अर्थात् पुस तेस्रो साता (१८ देखि २४ गतेसम्म)मा संक्रमण दर ४.७७ प्रतिशत रहेको थियो । त्यस साता ८० हजार ५० जनाको नमुना परीक्षण हुँदा ३,८२२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यसरी हेर्दा नेपालमा पुस अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण दर बढ्दै गएर माघ अन्तिम सातासम्म आइपुग्दा केही कम हुँदै गएको देखिन्छ ।
माघ २७ गतेसम्मको तथ्याङ्क अनुसारमा नेपालमा हालसम्म कोभिड१९विरुद्धको ४ करोड ६५ लाख ७० हजार ७ सय २० डोज खोप भित्रिएको छ । यसमध्ये ३ करोड ४८ लाख २५ हजार ६ सय १ मात्रा खोप लागिसेको छ ।
मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ७१.७ प्रतिशतले पहिलो मात्रा र ५५.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यस्तै १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ८९.२ प्रतिशतले एक मात्रा र ७३.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । र १२ देखि १७ वर्षको लक्षित जनसङ्ख्यामध्ये ८४ प्रतिशतले एक मात्रा र ३८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।