व्यवसायीको आरोप- 'मलाई गोली हान्न भारतीय सार्प सुटरलाई सुपारी दिइयो'
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १८ मंगलबार
577
Shares
काठमाडौं । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीले आफूलाई गोली हान्न बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले सुपारी दिएको आरोप लगाएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रायमाझीले पोखरेलले ३ जना भारतीय सार्प सुटरलाई सुपारी दिएर आफ्नो हत्या गर्न खोजेको आरोप लगाएका हुन् ।
‘भारतीय सार्प सुटरलाई लगाएर बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले मेरो हत्या गर्न खोजे ,’ रायमाझीले भने । हरिवन बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले आफूलाई गोली हान्ने प्रयास गरे पनि जोगिएको रायमाझीले बताए ।
हरिवन नगरपालिका–११ घर भएका रायमाझीले ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एक जना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको दाबी गरे । योजना चुहिएपछि आफूले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको बताए ।
आफूलाई एउटै स्कुल पढेका विश्वराज पोखरेलले गोली हान्न भारतीय सुटरलाई सुपारी दिएकोबारे उनले भने,‘विश्वराज र म एउटै स्कुल पढेका हौ तर उनी अलि सिनियर हो । मलाई मार्नलाई यति सम्म गर्ला भनेर कहिल्यै सोचेको थिइन् ।’
रायमाझीले विश्वराजको आफन्तको जग्गाको सिमानामा रहेको, विश्वराजका आफन्तले भोगचलन गरेको सम्पत्ति उनीहरूकै सल्लाहमा खरिद गरेको बताए । तर पछि विभिन्न बहाना गरेर विवाद झिकेपछि आफू बाध्य भएर सोही विषयमा अदालत जान बाध्य भएको सुनाए ।
अहिले मुद्दा विचाराधीन अवस्थामा रहेको पनि जानकारी दिए । तर, आफूलाई मार्नलाई विश्वराजले सुपारी दिएको र मार्ने योजना बनाएको कुरा आफुले कहिल्यै नसोचेको बताए । विश्वराजको सबै प्रमाण नबिल बैङ्कको सिसिटिभिमा कैद भएको जानकारी दिँदै उनले आवश्यकता परे पेस गर्न सक्ने पनि बताए ।
लेखापाल विश्वराज पोखरेल र उनका आफन्त (भाइ) ठेकेदार युवराज पोखरेलले आर्थिक चलखेल गर्ने गरेको र आफूलाई मार्ने योजना बनाएको हुन सक्ने उनले बताए । दुई जनाको सल्लाहमा युवराजले बोर्डरबाट आफ्नै केहीलाई गाडीको पछाडि राखेर र केहीलाई अर्को गाडीमा सुटरहरुलाई ल्याएको उनले आरोप लगाए । उनले भने,‘सुटरहरुलाई ल्याएर जङ्गलको होटेलमा खाजा खाएको पनि सुन्नमा आएको छ । सुटरकै एक जना साथीले मलार्ई त्यसको बारेमा जानकारी दिएको हो ।’
सुटरहरु बसेको होटेलमा सरकारी मोटरसाइकलमा विश्वराज आफै पुगेर उनीहरूले खाएको र सुतेको पैसा तिरेको पनि प्रमाण आफूसँग भएको सुनाए । विश्वराजले नै सबै सुटरलाई आफू हिँड्ने र बस्ने स्थानको बारेमा जानकारी दिएको जिकिर गरे ।
आफूलाई मार्ने त्यत्रो योजना बनाउँदा पनि जोगिएकोमा ईश्वरीय शक्तिको कारण भएको बताए । उनले भने,‘योजनाकार मध्येका एक जना परिपक्व सुटरलाई मेरो घर हेर्न पठाइयो । सोही समयमा मेरो आमाले तुलसीको मोठमा पानी चढाएको देखेर ओहो यस्तो राम्रो परिवारको सन्तान मार्न आएकोमा पश्चात्ताप भई आमालाई मलाई मार्ने योजनाबारे सबै बताएका हुन् ।’
उनले विश्वराज अहिले लुकेर बसेको आरोप लगाउँदै उनको मोबाइल पनि स्विच अफ भएको बताए । उनले भने,‘अपराधी प्रहरी भन्दा पनि एक कदम अगाडि छ । मोबाइल स्विच अफ छ । परिवारसँग पनि कनेक्सन नरहेको प्रहरी बताउँछ ।’
आफू र आफ्नो परिवारको सुरक्षा कायम गर्न माग गर्दै सम्बन्धित निकायमा जानकारी दिएको पनि रायमाझीले सुनाए । ‘स्टे अर्डर आएको पनि २० दिन भइसकेको छ, आरोपीलाई प्रहरीले खोजी गर्दै गर्दा पनि पत्ता लगाउन सकेको छैन ।’ उनले भने,‘कसको संरक्षणमा बसेको छ ? सरकारी कर्मचारी भएर पनि यसरी लुक्न सक्दा आश्रय भएको छ, ऊ निर्दोष भएको भए किन प्रहरीसँग लुकेर हिँड्थ्यो ।’
गत पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार विश्वराज पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ज्यान मार्ने उद्देश्यले आपराधिक षड्यन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।