arrow

वृद्धिदर चिन्ताजनक : ओरालो लाग्दै स्याङ्जाको जनसंख्या

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ माघ १४ शुक्रबार
syangja.jpg.jpeg

स्याङ्जा । राष्ट्रिय जनगणना २०७८ मा स्याङ्जाको जनसंख्या ओरालो लागेको देखिएको छ । २०६८ मा भएको जनगणना र २०७८ मा भएको जनगणनाको नतिजा हेर्दा स्याङ्जामा १० वर्षपछि जनसंख्यामा वृद्धिदर निकै ऋणात्मक देखिएको हो । 

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको प्रारम्भिक नतिजाले स्याङ्जाको नतिजामा माइनस १.२१ वृद्धिदर देखाएको छ । यो आधारले हेर्दा स्याङ्जाको जनसंख्याको वृद्धिदर निकै कमजोर देखिएको छ । २०७८ को जनगणनामा स्याङ्जाको जनसंख्या २ लाख ५४ हजार ९ सय ६५ रहेको छ । ठिक १० वर्ष अगाडी २०६८ सालमा गरिएको जनगणनामा स्याङ्जाको जनसंख्या २ लाख ८९ हजार १ सय ४८ रहेको थियो । १० वर्ष पछि २०७८ सालमा गरिएको जनगणनाले ३४ हजार १ सय ९३ कम जनसंख्या देखाएको छ । 

२०६८ सालमा गरिएको जनगणनाले पनि जिल्लाको जनसंख्या चिन्ताजनक देखाएको थियो भने १० वर्ष पछि गरिएको जनगणनाले झनै चिन्ताजनक अवस्था देखाएको छ । प्रारम्भिक नतिजा अनुसार स्याङ्जामा पुरुषको सङ्ख्या १ लाख १८ हजार ७६ रहेको छ भने महिलाको सङ्ख्या १ लाख ३६ हजार ८ सय ८९ रहेको छ । तुलनात्मक रूपमा स्याङ्जामा महिलाको सङ्ख्या बढी देखिएको छ । 

विभागले देखाएको तथ्याङ्कमा घर परिवार सङ्ख्या ७० हजार ७ सय २१ रहेको छ भने जनगणना घर सङ्ख्या ६२ हजार ८ सय ६७ रहेको छ । नेपालकै जनसंख्या सन्तोषजनक नभएको टिप्पणी आइरहेका बेला स्याङ्जामा पनि जनसंख्याको वृद्धिदर क्रमशः घट्दो अवस्थामा आएको छ । 

जनसंख्या घट्नुमा जन्म, मृत्यु र बसाइसराइको आधारमा हुने तथ्याङ्क कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र पराजुलीले बताए । जिल्लाको जनसंख्याको वृद्धिदर निकै चिन्ताजनक अवस्थामा देखियो सूचना अधिकारी पराजुलीले भने,‘यसको गहन रूपमा अध्ययन गर्न जरुरी देखिएको छ ।’ बेलैमा सरोकारवाला निकायहरूले अध्ययन नगर्ने हो भने आउने दिनमा अझै विकराल समस्या आउन सक्छ उनले भने । 

रोजगारीका लागि युवाहरु विदेशीने, ढिलो वैवाहिक सम्बन्ध गाँस्ने, महिलाहरूमा रोजगारी बढ्दो र एक सन्तान मात्रै जन्माउने कारणहरू पनि जनसंख्या वृद्धिदरमा कमी आउन सक्ने विश्लेषण गरिएको छ । यो प्रारम्भिक नतिजा भएकाले सबै फाइनल नतिजा आएपछि अध्ययन गरेर जनसंख्या वृद्धिदर बढाउन लाग्नु पर्ने पराजुलीले सुझाएका छन् । 

आवधिक नीति, योजना तथा कार्यक्रम तर्जुमा, अनुगमन तथा मूल्याङ्कन गर्नका लागि राष्ट्रिय जनगणना आवश्यक पर्ने हुन्छ । जसले जिल्लाको योजना तर्जुमा समेत टेवा पुग्ने गर्छ । जनसंख्याको वृद्धिदर घट्ने मात्रै अवस्था आयो भने यस्ता विषयमा निकै घाटा हुने विज्ञहरू बताउँछन् । 

११ पालिका रहेको स्याङ्जामा सबै भन्दा बढी जनसंख्या वालिङ नगरपालिकामा रहेको देखिएको छ भने फेदिखोला गाउँपालिकामा सबै भन्दा थोरै जनसंख्या देखिएको छ । वालिङ नगरपालिकामा ५० हजार ९ सय २२ र फेदिखोलामा १० हजार ७ सय ८६ जनसंख्या रहेको तथ्याङ्कले देखाएको छ । 

नगरपालिकाहरू मध्ये सबै भन्दा थोरै गल्याङ् नगरपालिका रहेको छ । गल्याङ नगरपालिकाको जनसंख्या २१ हजार १ सय २५ रहेको छ । यसै गरी गाउँपालिकाहरूमा सबै भन्दा धेरै जनसंख्या कालीगण्डकी गाउँपालिका रहेको छ । कालीगण्डकी गाउँपालिकामा १८ हजार ८ जनसंख्या रहेको तथ्याङ्कले देखाएको छ । 

जिल्लाको पुतली बजारको ४२ हजार ७९, भीरकोटको २२ हजार ६ सय १७, चापाकोटको २२ हजार ७ सय ८७ र आँधीखोला गाउँपालिकाको १४ हजार ९४, अर्जुनचौपारी गाउँपालिकाको १४ हजार ९४, हरिनास गाउँपालिकाको १२ हजार ९ सय ७९, बिरुवा गाउँपालिकाको १२ हजार ९ सय जनसंख्या रहेको तथ्याङ्क विभागले जनाएको छ । 

बुधवार प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । जसमा पुरुषको सङ्ख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको सङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा देखाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ