arrow

केपीको निर्देशन विपरीत युवा संघले जारी गर्‍यो  महाधिवेशन आयोजक कमिटी गठनको सर्कुलर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
kp-oli-mahesh-basnet-phone.jpg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत महाधिवेशन आयोजक कमिटी गठन गरेको सर्कुलर जारी गरेको छ । युवा संघका वर्तमान अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको हो । 

आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् । युवा संघभित्रको विवाद समाधान नभइकन पौडेल संयोजक रहेको महाधिवेशन आयोजक कमिटीको सकुर्लर पठाएको हो । पोखरामा सम्पन्न भएको युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले सो निर्णय गरेको भन्दै आयोजक कमिटी गठन भएको सर्कुलर सार्वजनिक भएको छ । 

सो बैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले संगठनभित्र विशेष सर्कुलर जारी गरेका छन् । सर्कुलरमा उल्लेख भएअनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद् निर्माण गर्ने निर्णयसमेत भएको छ । 

परिषदमा २० प्रतिशत मनोनित हुन्छ । यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म विस्तार गरिने उल्लेख गरिएको छ । तर पोखरामा भएको बैठकमा गणपुरक संख्या नै नपुगेको र युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी गरेको भन्दै असन्तुष्ट रहेका नेताहरुले पार्टी अध्यक्ष ओली पार्टी महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारीलाई उजुरी गरेका थिए । 

पार्टी अध्यक्ष ओलीले पोखरा बैठकमा भएका निर्णयहरु सच्याएर सर्कुलर जारी गर्न निर्देशन दिएका थिए । त्यस्तै महासचिव शंकर पोखरेलले पनि बैठकका निर्णयहरु सच्याउन निर्देशन दिएका थिए । मोर्चा संगठन प्रमुख भानुभक्त ढकाल, संगठन विभाग प्रमुख खगराज अधिकारीले पनि निर्णय सच्याएर मात्रै सर्कुलर पठाउन आग्रह गरेका थिए ।
 
युवा संघ इन्चार्ज बस्नेतको निर्देशनमा पौडेलले सो सर्कुलर जारी गरेका हुन् । दशौँ महाधिवेशनमा ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउनुपर्ने पक्षमा उभिएका युवा संघका नेताहरुलाई बस्नेतले पाखा लगाएर सर्कुलर जारी गर्न लगाएका हुन् ।  

यसबाट युवा संघकै कारण पार्टीभित्र दुई गुटको शक्ति संघर्ष शुरु भएको छ । कोरम नै नपुगेको केन्द्रीय सचिवालय बैठकले विधानविपरीत एकलौटी रूपमा नवौँ महाधिवेशन आयोजक कमिटी गठन गरेको भन्दै असन्तुष्ट समूहले पार्टीमा उजुरी गरेपछि बस्नेत पक्षले उनीहरुलाई बाहिर राखेर महाधिवेशन आयोजक कमिटी गठन गरेको हो । 

संघका अध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्यको नेतृत्वमा रहेको बहुमत पक्षलाई संघका पूर्वअध्यक्ष महेश बस्नेतको साथ छ । पार्टीमा भने यो समूहले दशौं महाधिवेशनमा सुवास नेम्वाङ, विष्णु पौडेल लगायतलाई नेतृत्वमा ल्याउन जोड गरेको थियो । तर असफल भएपछि अहिले संघबाट चुनौती दिन थालेको छ । 

महासचिव पोखरेललाई समर्थन गर्दै आएका युवा संघका असन्तुष्टहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको ध्यानाकर्षण पत्रमा संघमा पूर्वअध्यक्ष महेश बस्नेत हाबी भएको उल्लेख गरेका थिए । 

यस्तै एकलौटी निर्णय नसच्चिए समानान्तर गतिविधि गर्नुपर्ने अवस्था आउने सम्मको चेतावनी दिएका थिए । ‘पार्टीको मूल विचार माक्सवादद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, लेनिनवादी संगठनात्मक सिद्धान्त र लोकतान्त्रिक विधि, पद्धति विपरीत संघको संगठनात्मक जीवनमा व्यक्तिवाद हाबी हुँदै गएको हामीले महसुस गरेका छौँ, तसर्थ संघको विद्यमान पूर्ण सचिवालय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशन गरियोस् भनी कमरेडसमक्ष यो ध्यानाकर्षणपत्र दर्ज गराएका छौँ, समयमै गलत निर्णय नसच्याए हामी संघलाई विधि, पद्धति र प्रक्रियाअनुरूप अगाडि बढाउन थप पाइला चाल्न वाध्य हुने विषयसमेत अवगत गराउँदछौँ,’ सो पत्रमा भनेका थिए ।
 
समानान्तर कमिटी गठन गर्नबाट भने पार्टी अध्यक्ष ओलीले रोकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ