arrow

एमालेमा अहिलेदेखि ११ औं महाधिवेशनको रणनीति बन्दै, नेताहरु युवा संघभित्र खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
bishnu-shankar-mahesh-uml.jpg

काठमाडौं । एमालेको सबैभन्दा सक्रिय जनसंगठन युवा संघभित्र पोखरा बैठकले तरंग उत्पन्न गराएको छ । पुस २७ र २८ गते भएको बैठकमा प्रमुख अतिथि र अतिथि लैजाने विषयमै मतमतान्तर भएपछि थप तरंग उत्पन्न भएको हो । 

युवा संघका सदस्यहरुले प्रमुख अतिथि र अतिथि बनाउने विषयमै लफडा गरेका थिए । संघका इन्चार्ज महेश बस्नेतले उपाध्यक्ष विष्णु पौडेललाई प्रमुख अतिथि र पदाधिकारी तथा सदस्यहरुले महासचिव शंकर पोखरेललाई प्रमुख अतिथि बनाउन खोजेका थिए । 

‘पोखरामा करिब चार सय जना केन्द्रीय सदस्यहरु उपस्थित हुने बैठकमा पौडेल र पोखरेल कसलाई प्रमुख अतिथि बनाउने भन्ने बारेमा विवाद उत्पन्न भएको थियो’, युवा संघका एक पदाधिकारीले भने । उनका अनुसार बस्नेतले उपाध्यक्ष पौडेललाई प्रमुख अतिथि बनाउनु भनेपछि अध्यक्ष किरण पौडेलले सहमति जनाइसकेका थिए ।
 
तर पदाधिकारी मध्येका अधिकांशले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाउन दबाब दिएका कारण दुवै नेताहरुको सट्टामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाइएको थियो । वरिष्ठ उपाध्यक्ष पोखरेल प्रमुख अतिथि बनाइएपछि पौडेललाई अतिथि नबनाउने र पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीलाई मात्रै अतिथि बनाउने सहमति भएकोमा बस्नेतले विष्णु पौडेललाई विशेष अतिथिका रुपमा निम्त्याएका थिए । 

‘नेताहरुलाई ‘ब्यालेन्स’ गर्न पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीलाई मात्रै बोलाउने भनेका थियौँ तर पोखरा पुग्दा विष्णु पौडेललाई पनि बोलाइएको रहेछ’, संघका एक पदाधिकारीले भने । 

दशौं महाधिवेशनमा महेश बस्नेतले विष्णु पौडेललाई महासचिव बनाउनुपर्छ भनेर लबिङ गरिरहेका थिए । सो महाधिवेशनमा सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतको एउटा समूहले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष हुनबाट र शंकर पोखरेललाई महासचिव हुनबाट रोक्ने प्रयास गरेको थियो ।

‘मूलतः शंकर पोखरेललाई महासचिव हुनबाट रोक्ने कोसिस थियो तर त्यो संभव नभएपछि अब ११ औं महाधिवेशनको खेलो फड्को शुरु भएको हो । युवा संघको आउँदो नवौं महाधिवेशन त्यसको खेल मैदान हुने स्पष्ट छ’, युवा संघका एक पदाधिकारीले भने ।

युवा संघको पृष्टभूमि पनि कुनै न कुनै नेताहरुको खेलमैदान जस्तै भएको तथ्य औल्याउँदै ती पदाधिकारीले भने ‘पहिला पनि केपी ओली लगायतका नेताहरुले प्रयोग गर्ने थलो बन्यो अहिले पौडेलको खेल मैदान बनाउने कोसिस हुँदैछ ।’

युवा संघमा असन्तुष्ट रहेका नेताहरुलाई इन्चार्जसमेत रहेका महेश बस्नेतले बोलाउँदै पौडेलको पक्षमा लबिङ गर्न निर्देशन दिइसकेका छन् । उनले चितवनमा भएको दशौं महाधिवेशनको विषय सम्झाउँदै अबको दिनमा पनि पार्टीभित्र दुई लाइन संघर्ष हुने बताएका छन् । 

तर उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल भने पार्टीभित्र जनसंगठनलाई उचालेर गुटबन्दी गर्ने सोचाइमा छैनन् । एउटै प्रदेशका नेता भएकै कारण पहिला पनि मिलेरै जाने नीति लिएका थिए ।

‘दशौ महाधिवेशनमा पौडेलले प्यानल बनाएर चुनाव लड्न चाहेका भए ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, महासचिवमा शंकर पोखरेल आउने थिएनन्, संगठनमा पौडेलको बलियो होल्ड थियो, तर पौडेलले अन्तिम समयमा चुनावमा नजाने नीति लिएपछि दुवै पोखरेल पार्टीभित्र हावी भएका हुन्’, एमालेका एक केन्द्रीय सदस्यले भने । 

उनका अनुसार युवा संघमा देखिएको विवाद समयमै समाधान नभए फेरि पनि पुरानै अवस्था दोहोरिन सक्छ । युवा संघले यही फागुन ११ देखि महाधिवेशन गर्ने मिति तय गरेको छ । 

विगत आठ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । २०६९ साल फागुन १८ गते आठौ महाधिवेशन भएको थियो त्यसपछि युवा संघ टिका प्रथामा चल्दै आएको छ । दशौं महाधिवेशनपछि पार्टीले सबै जनवर्गीय संगठनलाई अधिवेशन गर्न निर्दैशन दिएपछि युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको मिति तय गर्न पुस १९ गते बैठक बोलाएका थिए । 

सोही बैठकले फागुन ११ मा महाधिवेशन गर्ने मिति तय गरेको थियो । महाधिवेशन तयारी बैठक र आयोजक कमिटी बनाउने विषयमै संघभित्र विवाद उत्पन्न भएको थियो । 

सो विवादले उग्र रुप लिँदा शनिबार यता पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा संगठन प्रमुख भानुभक्त ढकालसमक्ष युवा संघका बहुमत पदाधिकारीले उजुरी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ