पोखरा । २० औं आहा रारा गोल्डकपमा आयोजकसहित १० वटा टिमको सहभागी हुने भएका छन् । प्रतियोगिता माघ ६ देखि १५ गतेसम्म पोखरा रंगशालामा हुँदैछ ।
प्रतियोगितामा सहारा क्लव, तीन विभागीय, एक विदेशी टिम र पाँच ए डिभिजन फुटवल क्लव सहभागी हुने आयोजक सहारा क्लवले जनाएको छ ।
सहारा क्लवका अनुसार सहारा क्लव, विभागीय क्लवहरु आर्मीको त्रिभुवन आर्मी क्लव, प्रहरीको नेपाल पुलिस क्लव, सशस्त्रको एपीएफ क्लव, मच्छिन्द्र फुटवल क्लव, मनाङ मस्र्याङ्दी क्लव, थ्रीस्टार क्लव, संकटा क्लव, हिमालयन शेर्पा क्लव र अमेरिकाको बीवाइएससी, मिनेसोता क्लवले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा आम्दानी एक करोड ३६ लाख र कुल खर्च एक करोड ६ लाख ४८ हजार रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ ।