आजदेखि राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता, क–कसलाई लाग्छ ?
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
830
Shares
काठमाडौं । आगामी १२ माघ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आचारसंहिता क–कसलाई लागू हुन्छ ? यो आचारसंहिता संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनलाई लागू हुन्छ ।
आयोगले आचारसंहिताको पालना गर्न आह्वान गरेको छ। उल्लंघन भएमा कानूनी कारवाही गरिने भन्दै आचारसंहिताको पूर्ण रुपमा पालना गर्न गराउन आयोगले निर्देशन दिएको छ ।
उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने विज्ञप्तिमा उल्लेख छ ।
आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको थियो ।