मतदानको समय लम्बिएपछि एमाले कैलालीको अधिवेशन स्थलमा तोडफोडसहित नाराबाजी
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
910
Shares
धनगढी । मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरुले तोडफोड गरेका छन् । आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरुले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस) को हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् ।
निर्वाचन समितिका पदाधिकारीले भने मतपत्र छपाइमा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । ‘पानी परेका कारण उम्मेदवारी दर्ता प्रक्रिया केही लम्बियो,’ एमाले अधिवेशन कैलालीका मुख्य निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले भने, ‘ढिला उम्मेदवारी दर्ता हुँदा मतपत्र छपाइ गर्न ढिलाई भयो, जसका कारण समयमै मतदान हुन सकेन ।’
कैलालीमा एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । रतन थापा समूहले रातिनै भएपनि मतदान गरिनुपर्ने अडान लगेको छ, भने चन्द पक्षले भोलि बिहानदेखि मात्रै मतदान हुनुपर्ने अडान राखेको छ ।