राष्ट्रिय सभामा एक्लिएको एमाले जिल्ला अधिवेशनमा तात्यो, तयारी स्थानीय तहको निर्वाचनको
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
548
Shares
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा एक्लिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही २३ गते शुक्रबार देशभर एक साथ जिल्ला अधिवेशनहरू गर्दैछ । स्थानीय तह, प्रदेश र केन्द्रको समेत निर्वाचनको मिति घोषणाको तयारी हुँदै गर्दा एमालेले जिल्लास्थित आफ्नै सबै तहका संगठन चुस्तदुरुस्त राख्न जिल्ला अधिवेशन एक साथ गर्ने भएको हो ।
७७ वटै जिल्ला अधिवेशन गर्न केन्द्रले निर्देशन दिएपछि जिल्ला अधिवेशनको सबै पूरा तयारी भैसकेको एमालेले जनाएको छ । अधिवेशनका लागि सबै वडाबाट प्रतिनिधि छान्ने र जिल्लाको व्यवस्थापनको तयारी सकिएको एमाले केन्द्रमा रिपोर्टिङ आएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । ‘तयारी सकिएको छ केही हिमाली जिल्लामा बाहेक सबै जिल्लामा एकसाथ जिल्ला अधिवेशनहरु हुँदैछन्’, प्रचार विभागका उपप्रमुख रिजालले भने ।
एमालेमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको छ । सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विविध अवलम्बन गर्न एमालेले मातहत कमिटीहरूलाई खुला छाडेको छ ।
पुस २३ गते हुने जिल्ला अधिवेशन तथा माघ ८ मा हुने प्रदेश अधिवेशनका लागि केन्द्रीय कार्यालयको तर्फबाट पठाइएको लिखित मापदण्ड अनुसार निर्वाचनको प्रक्रियामा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अवलम्बन गर्न भनिएको छ ।
जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ । मौसमका कारण कतिपय हिमाली जिल्लामा अधिवेशन गर्न अम्भव भएमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।
मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्लासहित केही जिल्लामा भने केन्द्रीय कार्यालयको परामर्शमा अधिवेशन हुनेछ । अन्य जिल्लाहरुमा २३ गते नै जिल्ला अधिवेशन तयारी भैरहेको छ । दशौं महाधिवेशनपछि जिम्मेवारी पाएका केन्द्रीय सदस्यहरु अहिले जिल्ला अधिवेशनको तयारीमा जिल्ला जिल्लामै रहेका छन् ।
उनीहरुकै निर्दैशनमा जिल्ला अध्यक्ष र जिल्ला कमिटीहरुले काम गरिरहेको एमालेले जनाएको छ । ‘धेरैजसो केन्द्रीय सदस्यहरुले भावी निर्वाचनमा आफ्नो सीट सुरक्षित गर्नका लागि अनुकुलको नेतृत्व ल्याउन लागिपरेका छन्’, एमालेका एक केन्द्रीय सदस्यले भने ।
एमालेको जिल्ला अधिवेशन सकिएको लगत्तै सात वटै प्रदेश सम्पर्क कमिटीहरुको अधिवेशन हुने भएको छ । सो अधिवेशनबाट पनि नयाँ नेतृत्व चयन हुने एमालेले जनाएको छ ।
पुस ३० गते प्रदेश सम्पर्क कमिटीको अधिवेशन हुने एमालले जनाएको छ । त्यसैगरी माघ ८ गते प्रदेश संगठन कमिटीको अधिवेशन हुने भएको छ । पुस २३ गते जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ ।
यससँगै एमालेले त्यस मुनिका कमिटीहरुको पनि अधिवेशन तीव्र रुपमा थालेको छ । माघ २२ गते सम्पर्क मञ्चहरुको सम्मेलन तथा त्यही क्रममा जनवर्गीय संगठनहरुको सम्मेलन गर्ने पनि तयारी गरेको छ ।
अहिले देशभर पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले देशभर अधिवेशन गरिरहेको छ । प्रेस चौतारीको पनि माघ २२ र २३ गते पोखरामा सम्मेलन गर्ने तयारी गरेको छ ।
अनेरास्ववियूले पनि फागुनमा विधान अधिवेशन गर्ने र त्यसपछि सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्ने जनाएको छ । ‘स्थानीय तहको निर्वाचन अघि नै सबै जनवर्गीय संगठनहरुको सम्मेलन गरेर नयाँ नेतृत्व चयन गर्ने तयारी रहेको छ’, एमाले केन्द्रीय सदस्य मानवीर राईले बताए ।