निर्वाचन आयोग भन्छ: 'मतदाता नामावली दर्ता वर्षैैभर चलिरहन्छ, आत्तिनु पर्दैन'
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
1.1k
Shares
काठमाडौं । निर्वाचन आयोगले संचालन गरिरहेको मतदाता नामावली दर्तामा करिब सात लाख नागरिकहरु थपिएका छन् ।
हाल विशेष मतदाता नामावली दर्ता चलिरहेकाले तोकिएका स्थानमा नागरिकहरुको भीड लागेको छ । विशेष अभियान पुस २० गते सकिदैछ । यो अभियानमा १० लाख मतदाता थपिने अनुमान गरिएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नामावली दर्ता वर्षैभरि जारी रहने स्थानमा पुग्न असमर्थ हुने तथा चुनावलाई दृष्टिगत गरी यतिबेला विशेष अभियान चलाइएको हो, अब दर्ता नै नहुने भन्ने हुँदैन र आत्तिनुपर्ने अवस्था पनि छैन ।
आयोगका अनुसार तराई मधेस, भित्री मधेस र उपत्यकाका पालिकामा मंसिर १७ गते सुरु भई पुस २ गते पहिलो चरणको नामावली दर्ता सकिएको र दोस्रो चरणको कार्य जारी रहेको छ । विशेष अभियान सकिए पनि ‘आउट डिस्ट्रिक्ट रजिस्ट्रेसन’ जारी रहने तर ओडीआर जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुने आयोगको भनाइ छ ।
पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको बाँकी रहेको पालिकामा मंसिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता शुरु भइसकेको आयोगले जनाएको छ ।
प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन पनि आग्रह गरे ।
उनले भने,‘७३ वटा इलाका प्रशासन कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली निर्वाचन घोषणा नभएसम्म अनवरत रुपमा चलिरहेकाले अतालिनु पर्ने अवस्था छैन ।’
संविधानतमा व्यवस्था भए अनुसार चुनावमा भोट हाल्न पाउने उमेर १८ वर्ष भए पनि निर्वाचन आयोगले १६ वर्ष पुगेका नेपाली नागरिकको नाम समेत सूचीकृत गरिरहेको छ । मतदाताका रुपमा सूचीकृत हुन १८ वर्षसम्म कुर्नु नपर्ने आयोगले जनाएको छ ।
१६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रुपमा सूचीकृत हुन पाइने आयोगले जनाएको छ । त्यसरी नाम दर्ता गरेको व्यक्ति १८ वर्ष पुग्नासाथ भोटर लिस्टमा सफ्टवेयरबाटै नाम स्वतः चढ्ने प्रणालीको विकास गरिएको छ ।