चिकित्सा शिक्षा आयोगलाई केएमसीको जवाफ : बढी शुल्क लिएको छैन पढाइ भइरहेको छ
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
739
Shares
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले विद्यार्थीहरुबाट बढी शुल्क नदिएको दावी गर्दै चिकित्सा शिक्षा आयोगलाई जवाफ पठाएको छ । बढी शुल्क लिएको गुनासो आएको भन्दै आयोगले सोधेको प्रश्नमा केएमसीले विद्यार्थीहरुबाट बढी शुल्क नलिएको र आयोगले तोकेको शुल्कमै पठनपाठन गराइरहेको भन्दै जवाफ पठाएको हो ।
पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा केएमसीसहित तीन वटा मेडिकल कलेजसँग जवाफ माग गर्दै पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिदैं केएमसीले विद्यार्थीहरुबाट बढी शुल्क नलिएको दाबी गरेको हो ।
‘हामीसँग कुनै राय परामर्श नगरी राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म भावना विपरित आयोगले आत्मपरक ढंगले अध्ययन अवधिभर ४०,२३,२५२ (किस्तावन्दी) लिने भनी शुल्क निर्धारण गरेको छ,’ केएमसीले आयोगलाई पठाएको पत्रमा लेखिएको छ, ‘तर पनि यस संस्थाले सो निर्णय बमोजिम नै शुल्क लिई अध्ययन अध्यापन गराइरहेको छ । आयोगले तोकेको भन्दा बढी कुनै शुल्क लिएको छैन ।’
आयोगले तोकेको शुल्कअनुसार नै विद्यार्थीहरुसँग सम्झौता गरेर शुल्क लिने गरिएको केएमसीले स्पष्ट पारेको हो । पारदर्शीताका लागि सो सम्झौता पत्र कलेजको वेभसाइटमा राख्नुका साथै चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको केएमसीले जनाएको छ ।
सो सम्झौता पत्रको खाकामा आयोगले तोके बमोजिमकै शुल्क उल्लेख छ ।
यता, केएमसीले एमबीबीएस, बीडीएस र बीएनएसको अध्ययन अध्यापन पुस ५ गतेबाट सञ्चालन गरिने भनेर पुस ४ गते नै आयोगलाई पत्राचार गरेको थियो । सोही मितिबाट भर्नाको आधिकारीक प्रकृया पूरा गरी सम्पर्कमा आएका विद्यार्थीहरुलाई नियमित रुपमा अध्ययन अध्यापन गराइरहेको केएमसीले पत्रमार्फत आयोगलाई जानकारी गराएको छ ।