arrow

हिउँदको स्वर्ग कालिञ्चोक (१७ तस्बिरसहित)

logo
सरोज पाण्डे, 
प्रकाशित २०७८ पुष १७ शनिबार
269963079_301294725126667_3470521565019621754_n.jpg

जाडो मौसमले आफ्नो प्रभावलाई बढाएसँगै पहाडी र हिमाली क्षेत्रमा भएको हिमपातले डाँडाहरुलाई मनमोहक बनाएको छ। काठमाडौं उपत्यका वरिपरिका डाँडाहरुसमेत हिउँप्रेमीले भरिएका छन् । उपत्यकाबाट केही पर पुगेर हिउँसँगै धार्मिकस्थलको समेत भ्रमण गर्न मन भएकाहरुको लागि भने उत्कृष्ट गन्तब्य बनेको छ – दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक।

सदरमुकाम चरिकोटबाट १६ किलोमिटर जति  उत्तर, दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल कालिञ्चोक मन्दिर ३ हजार ८ सय ४२ मिटरको उचाइमा छ । धार्मिक किम्बदन्तीका अनुसार दोलखाको कालिञ्चोक भगवती काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती, ताप्लेजुङको पाथिभरा र अन्य भगवतीसमेत ७ भगवती दिदी बहिनी हुन् भन्ने मान्यता छन् । कालिञ्चोक मन्दिर क्षेत्रबाट रोल्वालिङ हिम शृङ्खलाको मनोरम प्राकृतिक दृष्यहरूकोसमेत अवलोकन गर्न सकिन्छ ।

काठमाडौंबाट झण्डै १३० किलोमिटरको यात्रा पछि दोलखाको सदरमुकाम चरिकोट बजार पुगिन्छ । राजमार्ग वरिपरिका सुन्दर प्राकृतिक दृश्य तथा गाउँ बस्ती हुँदै बाटो अघि बढ्छ । धुलिखेलबाट दोलालघाट हुँदै खाडिचौरको सुनकोशी पुल कटेर उकालो लागेपछि करिब एक घण्टामा मुडे पुगिन्छ । मुडेसम्मको बाटो राम्रै भए पनि त्यसपछिको खरिढुङ्गा – चरिकोट सडकखण्ड लामो समयदेखि निर्माणाधीन अवस्थामा छ ।

त्यसैले सो २६ किलोमिटर पार गर्न दुई घण्टा नै लाग्न सक्छ । चरिकोटबाट देउराली हुँदै उकालो लागेपछि कालिञ्चोक गाउँपालिकाको कुरी बजारसम्म पुगिन्छ । देउरालीसम्मको बाटो कालोपत्रे छ भने त्यसपछि जंगल छिचोल्दै कच्ची बाटो अघि बढ्छ । कुरीसम्म सजिलैसँग जीपमा चढेर जान सकिन्छ । 

सार्वजनिक सवारीहरु नचल्ने हुनाले १५ किलोमिटरको भाडा भने पाँच सय रुपैयाँ जति पर्छ। हिउँ परेको समयमा चक्कामा फलामे साङ्ला लगाएर हिउँले ढाकिएको बाटोमा कुद्न जीपलाई पनि हम्मे पर्छ । त्यसैले हिमपातको बेला हिउँ खेल्दै पैदलै कुरीसम्म पुग्नुको रमाइलो नै बेग्लै हुन्छ । 

कुरीमा खान बस्नको राम्रै व्यवस्था भएकोले एक रात त्यहीँ बसेर भोलिपल्ट बिहानै मन्दिर दर्शन तथा दृश्यावलोकनको लागि उक्लिन उपयुक्त हुन्छ। रङ्गीचङ्गी जस्तापाता छाइएका घरहरु भएको कुरी बजार सुन्दर छ। हिउँदको समयमा भने कुरी बजारलाई हिउँले ढपक्क ढाक्छ अनि स्थानीय स्वीट्जरल्याण्डको कुनै गाउँको रुपमा चित्रण गर्दछन् ।

कुरीबाट कालिञ्चोक मन्दिर पुग्न झण्डै एक घण्टा लाग्छ । अहिले कालिञ्चोक मन्दिरको नजिकैसम्म केवलकारबाट झण्डै ५ मिनेटमै पुग्न सकिन्छ । सो पाँच मिनेट यात्राको टिकटको लागि भने पाँच सय रुपैयाँ तिर्नु पर्छ । केवलकारको माथिल्लो स्टेशनबाट १० मिनेटमा मन्दिर क्षेत्रमा पुग्न सकिन्छ । डाँडाको टुप्पोमा खुला आकाशमुनि भगवतीको मूर्ति स्थापित छ भने फलामे बार बाहेक अरु कुनै संरचना छैन । 

अरु दिन पनि भक्तजनको भीड लाग्ने यो मन्दिरमा शनिबारको दिन भने अलि बढी नै चाप हुन्छ । मन्दिर परिसरमा बजिरहेका घण्टका आवाजसँगै फरफराइरहेको लुङ्दा अनि नजिकै देखिएका लाङटाङ र रोल्वालिङ हिमशृंखलाका गौरीशंकर लगायतका अन्य हिमाली दृश्यले मनलाई साँच्चै नै प्रफुलित पार्दछ । 

धार्मिक पर्यटक र हिमाली दृश्यावलोकनको लागि चर्चित कालिन्चोक क्षेत्र हिउँ परेको समयमा भने साहासिक खेल स्कीको लागि पनि राम्रो गन्तव्य बन्ने प्रयासमा छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ