arrow

सम्पादकीयः महाधिवेशन पछिको मार्ग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
editorial-sampadakiya1.jpg

निर्वाचन आयोगमा एक सय तीन दल दर्तारत छन् । आयोगमा दल दर्ता गर्दा नै विधानमा पाँच वर्षभित्र दलको महाधिवेशन गर्नुपर्ने उल्लेख हुन्छ । त्यसैले पनि पछिल्लो समय विभिन्न दलले महाधिवेशन गरिरहेका छन् । कसैले महाधिवेशन गरेर नेतृत्वसमेत चयन गरिसके भने कोही प्रक्रियामा छन् । कुनै दलको नयाँ नेतृत्व आएको छ भने अधिकांशको नेतृत्वमा पुरानै अनुहार आएका छन् । नेपाल संघीय संरचनामा गएसँगै पहिलो पटक दलहरुले स्थानीय तहदेखि नै चुनावी प्रक्रिया अवलम्बन गरेका छन् । दलको विधानअनुसार तोकिएकै समयमा कुनै पनि दलले महाधिवेशन गर्ने गरेका छैनन् । यो पटक पनि समय घर्काएर महाधिवेशन भएका छन् । यसमा नेतृत्वको इच्छाशक्तिसँगै समय परिस्थितिले पनि भूमिका खेलेको पाइन्छ । एकातिर पदमा बसिरहन पाए हुन्थ्यो भन्ने चाहना र अर्कातिर प्रतिस्पर्धामा आउनेको तयारीमा भएको कमीले पनि निरन्तरता पाइरहेको पाइन्छ । 

जेहोस् लोकतन्त्रको सौन्दर्यका रुपमा पनि लिइने चुनावी प्रक्रिया अपनाएर नियमित महाधिवेशन हुनु राम्रो हो । साना दलहरुसँगै राष्ट्रिय दलको मान्यता पाएका ठूला दलहरुको महाधिवेशनमा नेताकार्यकर्ताको सहभागीताले राजनीतिक सरगर्मी पनि बढाएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपापछि नेपाली कांग्रेसले महाधिवेशन गरेको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तिम चरणमा पुगेको छ । सर्वसहमतिका नाममा जबरजस्ती गर्ने शैली र प्रवृत्ति फरक भए पनि तीन वटै दलले महाधिवेशन सम्पन्न गरेका छन् । माओवादीले राष्ट्रिय सम्मेलनको नाम अन्तिम समयमा फेरेर महाधिवेशनकै रुपमा पहिलो पटक स्थानीय तहदेखि नै निर्वाचनको प्रक्रिया पूरा गर्दैछ ।
  
दलहरुले देखाउने गरेको क्रियाशील सदस्यता संख्या र महाधिवेशन प्रतिनिधिको संख्याले त्यो पार्टीको क्षमता निर्धारण गरेको हुन्छ । योसँगै महाधिवेशनले आगामी आमनिर्वाचनको तयारीको संकेतसमेत गरेको छ । केही घटना बाहेक जसरी दलहरु महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धामा देखिएका छन् त्यसरी नै आमनिर्वाचनमा पनि लाग्न सक्नुपर्छ । आन्तरिक रस्साकस्सी एक ठाउँमा होला तर जब आम निर्वाचनमा गइन्छ त्यतिबेला भने दलीय बोली एकै हुनुपर्छ । तर आन्तरिक प्रतिस्पर्धा हुँदा जागेको तुस नमेटी निर्वाचनसम्म नै पुग्यो भने त्यसले ल्याउने विचलन नै हो । 

अर्कातिर नेताहरुले पार्टीको चुनावमा जसरी सक्रियता देखाए त्यसरी नै विकासका काममा पनि एकढिक्का हुँदा राजनीतिक मर्म पूरा हुनेमा दुई मत छैन । जसरी आम निर्वाचनको तयारीका लागि दलहरुले आन्तरिक अभ्यास पूरा गरेका छन् त्यसरी नै मिलेर नेतृत्वले देश निर्माणको सार्थक मार्ग तय गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ