काठमाडौँ। टोरिनोलाई १-० अन्तरले पराजित गर्दै इन्टर मिलानाले इटालीयन सिरी ए मा शीर्ष स्थानमा चार अङ्कको अग्रता बनाएको छ। बुधवार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा ३०औँ मिनेटमा डेनजल डम्फ्रिजले गरेको गोलनै इन्टरको लागि तीन अङ्क पर्याप्त बन्यो। राति नै भएको अन्य खेलमा एसि मिलानले इम्पोलीलाई ४-२ अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रह्यो। नेपोली भने स्पेजियासँग १–० ले स्तब्ध बन्यो।
घरेलु मैदानमा रोमा साम्पडोरियासँग १–१ को बराबरीमा रोकिँदा हेलास भेरोना र फ्लोरेन्टिनाले समेत सोही नतिजा निकाले। लाजियोले १० खेलाडीमा सीमित भेनेजियालाई ३–१ ले पराजित गर्दा बोलोग्नाले सासुओलोलाई ३–० ले पराजित गरेको छ।
जितसँगै इन्टर १९ खेलबाट ४६ अङ्कसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको एसि मिलान ४२ अङ्कसहित दोस्रो स्थानमा छ भने ३९ अङ्कको नेपोली तेस्रो स्थानमा छ।