सुकुना क्याम्पसको रजत जयन्तीमा शिविर, नोबेलका डाक्टरले गरे १४ सय बिरामीको निःशुल्क उपचार
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
798
Shares
मोरङ। मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सुकुना बहुमुखी क्याम्पसको रजत जयन्तीको अवसरमा मङ्गलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सुकुना बहुमुखी क्याम्पसको सहकार्यमा क्याम्पस परिसरमा एक दिने शिविर सञ्चालन गरिएको हो।
शिविरमा १ हजार ४ सय ९३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। शिविरमा उपचारका लागि आएका २१३ जनाको रक्त परीक्षण, १६७ जनाको मुटुको जाँच (इसीजी) र १६३ जनाको भिडियो एक्सरे गरिएको छ। दाँतमा समस्या भएर शिविरमा आएका ६३ जनाको दाँत उखेलिएको छ।
ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविरबाट विपन्न वर्गका बिरामीहरूलाई फाइदा पुग्ने भएकाले स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालन डा.सुनिल शर्मा बताउँछन्।
डा.शर्मा अध्यक्ष रहेको काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले पनि विभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।