एमालेप्रति डा.बाबुरामको कटाक्ष:‘बढी उफ्रंदा आफ्नै धोती फुस्कन्छ है !’
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
726
Shares
काठमाडौं । जनता समाजवादी जनता पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले सांसदहरुले लगातार सदन अवरोध गरेकोमा आपत्ति जनाएका छन् ।
महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु लोकतान्त्रिक अभ्यास नभएको उनको भनाइ छ । उनले सामाजिक संजालमा प्रतिक्रिया लेख्दै सदन चल्न नदिंदा लोकतन्त्र नबाँच्ने भन्दै एमालेलाई कटाक्ष गरे,‘बढी उफ्रदा आफ्नै धोती फुस्कन्छ है !’
उनले लेखेका छन्,‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ? यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बॉच्छ ? बढी उफ्रदा आफ्नै धोती फुस्कन्छ है !’
मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीका बीच दुई अध्यादेश स्वीकृत भएका छन् । बैठकमा कानून मन्त्री दिलेन्द्र बडूले पेश गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ स्वीकृत भएको छ ।