arrow

एमालेले कार्यविभाजनसहित स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै, को को छन् आकांक्षी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनपछि बस्न लागेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको वरियताक्रम, कार्यविभाजन, स्थायी कमिटी तथा पोलिटव्यूरो गठन लगायतका १५ वटा विषयमा निर्णय गर्ने भएको छ । पहिलो बैठकले मूल नेतृत्वसहितको स्थायी कमिटी र पोलिटव्यूरो गठनको तयारी थालेको छ । आज बिहान पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलले पदाधिकारीहरुको कार्यविभाजन, स्थायी कमिटी तथा पोलिटव्यूरो गठन टुंग्याउने निर्णय गरेको थियो । नेतृत्वले स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने तयारीसँगै नेताहरुले सो कमिटीमा पर्न तीब्र लविङ गरेका छन् । 

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने भएपछि नेताहरुले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रामबहादुर थापा ‘बादल’ लाई भेटेर लविङ शुरु गरेका थिए । एमालेको विधानमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्यूरोमा गरी १ सय ४४ जना नेताहरु व्यस्थापन हुँदैछन् । 

विधान महाधिवेशनले निस्तेज पारेको पोलिटव्यूरो महाधिवेशनले व्यूँताएपछि नेताहरुले यो कमिटीमा आफू पर्न लबिङ थालेका हुन्  । यही कमिटीले १० प्रतिशत केन्द्रीय सदस्यहरुको पनि मनोनयन हुने भएकाले केन्द्रीय सदस्य नभएका नेताहरुले पनि लबिङ थालेका थिए  । केन्द्रीय कमिटीबाट निर्वाचित भएका नेताहरुबाटै स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने भएकाले केन्द्रीय सदस्यहरुले नै स्थायी कमिटीलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

एमालेको विधान अनुसार ४५ सदस्यीय स्थायी समितिमा १९ जना पदाधिकारी स्वतः पर्नेछन् । बाँकी रहेका २६ वटा पदमा करिब ५० जना आकांक्षी छन् । उमेरको हदले अवकास पाएकाबाहेक अघिल्लो स्थायी कमिटीमा भएका नेताहरुलाई स्वतः दोहोर्याउने मनस्थितिमा अध्यक्ष केपी शर्मा ओली रहेका कारण थोरै संख्यामात्रै स्थायी कमिटीमा पर्ने स्रोतको दाबी छ । 

माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुले कम्तीमा पाँच जना सदस्यहरु आफूहरुले पाउनु पर्ने दाबी गरिरहे पनि प्रभु साहबाहेक अरु स्थायी कमिटीमा पर्ने सम्भावना निकै कम रहेको स्रोतले जनाएको छ । टंक आङबुहाङ, गौरीशंकर चौधरी, ज्वालाकुमारी साह, धर्म रेग्मी, दिनेश पन्थी, चन्द्रबहादुर खड्का लगायतले स्थायी कमिटीमा लबिङ गरेका छन् । उनीहरुलाई पोलिटव्यूरोमा लगिने सम्भावना रहेको छ ।

अघिल्लो पटक स्थायी कमिटीमा भएर यसपटक पदाधिकारीमा नपरेकाहरुमा घनश्याम भूसाल, भीम आचार्य, किरण गुरुङ, रघुजी पन्त, मणिचन्द्र थापा गरी छ जना नेताहरु स्थायी कमिटीमा स्वतः पर्नेछन् । 

डा. भीमबहादुर रावलले केन्द्रीय सदस्यमा सपथ नखाएकाले अहिले उनलाई स्थायी कमिटी गणना गरिएको छैन । तर उनका लागि एक सिट खाली राख्ने सम्भावना पनि रहेको छ ।  एउटा पक्षले रावललाई मनाएर स्थायी कमिटीमा राख्ने र लालबाबु पण्डितलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेर स्थायी कमिटीमा ल्याउनुपर्ने सुझाव अध्यक्ष ओलीलाई दिएका छन् । 

उनलाई आजकै बैठकले केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने संभावना रहेको छ । स्थायी कमिटीमा जानका लागि भानुभक्त ढकाल, अग्नि खरेल, देवराज घिमिरे, गुरु बराल, कर्ण थापा, यामलाल कँडेल, राधा ज्ञवाली, शेरबहादुर तामाङ, शेरधन राई, बिन्दा पाण्डे, शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, श्रीमाया थकाली, थममाया थापा, राजन भट्टराई, उषाकला राई, बैजनाथ चौधरी प्रयासरत छन् । । 

काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, देवेन्द्र दाहाल, गोकुल बाँस्कोटा, गोरखबहादुर बोगटी, पर्शुराम मेघी गुरुङ, महेश बस्नेत, सीता पौडेल, सुजिता शाक्य, ठाकुर गैरे लगायतको पनि आकांक्षा रहेको छ । 

त्यसका लागि उपाध्यक्षद्वय विष्णु पौडेल, रामबहादुर थापा र महासचिव शंकर पोखरेलले गृहकार्य गरेका थिए । उनीहरुले गरेको गृहकार्यलाई बालकोटमा भएको अनौपचारिक छलफलमा राखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ