काठमाडौं। भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेकाे सङ्ख्या बढ्दै गएको छ। सोमबार यो समाचार लेख्दासम्म ओमिक्रोन भेरियन्टका सङ्क्रमितको सङ्ख्या २२ जना पुगेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ।
आइतबार (हिजाे) एकैदिन सबैभन्दा बढी १८ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियाे। ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित हुनेमा भारतको राजस्थान राज्यमा सबैभन्दा बढी ९ जना रहेका छन्।
तीमध्ये ४ जना हालै दक्षिण अफ्रिकाबाट फर्किएका हुन् भने, उनीहरूको सम्पर्कमा आएका अन्य ५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।हालसम्म भारतका ५ राज्यमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण देखिएको छ भने, ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या २२ जना पुगेको छ।
भारतमा सङ्क्रमण बढ्दा नेपालमा पनि खतरा बढ्ने विज्ञहरू बताउँदै आएका छन्। भारतसँगको खुला सीमाका कारण सीमामा कडाइ हुन नसके नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण भित्रिन सक्ने देखिन्छ।
जापान, अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडालगायत ४० भन्दा बढी देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ।
हाल ओमिक्रोनबाट सङ्क्रमित हुने धेरै मानिसहरूको सङ्ख्या दक्षिण अफ्रिकामा रहेको छ। यद्यपि, सङ्क्रमितहरूले अस्पताल भर्ना हुन नपरेको त्यहाँका अधिकारीहरुले बताएका छन्।
सींगापुरको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्ट डेल्टा र बेटा भेरियन्टको तुलनामा बढी सङ्क्रामक हुन सक्ने बताएको छ।
अमेरिकी महामारी सल्लाहकार डा. एन्थोनी फौसीले ओमिक्रोनबाट सङ्क्रमित हुनेहरू हालसम्म धेरै गम्भीर अवस्थामा अस्पताल भर्ना नभएको बताएका छन्।
यसले ओमिक्रोन भेरियन्ट कम घातक छ कि भन्ने किसिमको सङ्केत गरेको उनको भनाइ छ। यद्यपि, अनुसन्धान एवं अध्ययन जारी नै रहेका कारण अहिले नै यकिन हुन नसकिने उनले बताएका छन्।