काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गरेका छन् । उनले १०औं राष्ट्रिय महाधिवेशन बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गरे ।
उनले भने,‘नेपालको इतिहासमा यति धेरै जनसहभागिता कुनैपनि पार्टीको कार्यक्रममा भएको थिएन । मैंले सबै दलका महाधिवेशन, अधिवेशन, आमसभा हेरेको छु, यसपटकको हाम्रो महाधिवेशनमा पाँच लाख जनता उतार्ने योजना थियो । तर, त्योभन्दा पनि धेरै जनसमूदायको उपस्थितिमा हाम्रो उद्घान सम्पन्न भयो । एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो अवस्थामा छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याए । उनले भने,‘एमालेसामू चूनौति छन्, एउटा पार्टी फुटेर तीन टुक्रा भयो । एमाले पनि फुटेको छ । हामीले सरकार ५ वर्ष चलाउन सकेनौं । अहिले कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । हामीले कमिकमजोरी कहाँ रह्यो भनेर समिक्षा गर्नुपर्छ । हामीले विचार, प्रवृत्ति, सोच, दृष्टिकोणलाई समिक्षा गर्न जरुरी छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ ।’
उनले एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गरे । उनले भने,‘हामी कमिकमजोरी सच्याएर र फराकिलो छाती लिएर अघि बढ्नेछौं । समृद्ध नेपाल, सुखी नेपाली बनाउनेछौं । यो नारा सफल बनाउनेछौं ।’ ज्ञवालीले महाधिवेशन भव्य र सफल रुपमा सम्पन्न भएको दाबी गरे । यद्यपि महाधिवेशनमा केही कमिकमजोरी भने रहेको उनले स्विकारे । उनले भने,‘बन्दसत्रमा कमिकमजोरी भयो । यत्रो ठूलो कार्यक्रम आयोजना गर्दा अलि अलि त्रुटि, कमजोरी हुन्छन् । शतप्रतिशत राम्रो हुने भन्ने कुरा दुनियाँमा कहीँ पनि हुँदैन् ।’
उनले आफूले पार्टीको चौथोदेखि १०औं महाधिवेशनसम्म सक्रियताका साथ भाग लिएको पनि स्मरण गराए । उनले नेपालको राजनीतिमा एमालेले मुख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि सुनाए ।