यौन उत्पीडनको आरोपमा दाइलाई मद्दत गरेपछि सीएनएनका चर्चित एंकर निलम्बित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १५ बुधबार
796
Shares
काठमाडौं। सीएनएनले चर्चित टिभी एंकर क्रिस कुमोलाई अनिश्चित समयका लागि निलम्बित गरेको छ । उनका दाइ एवं न्युर्योकका पूर्व गभर्नर एन्ड्रयू कुमोमाथि यौन उत्पीडनको आरोप लागेका बेला मद्दत गर्न खोजेको रिपोर्ट गरिएपछि उनी निलम्बनमा परेका हुन् ।
सीएनएनको दैनिक प्रसारण हुने कार्यक्रम प्राइम टाइम्सका एंकर क्रिसको कार्यक्रम दैनिक सबैभन्दा बढी हेरिने कार्यक्रम हो । न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिया जेम्सका वकिलहरूका अनुसार ५१ वर्षीय क्रिस कुमोले आफ्ना दाइ एन्ड्रयू कुमोमाथि यौन उत्पीडनको आरोप लगाउनेहरूबारे जानकारी लिन खोजेका थिए र सो जानकारी उनका दाइका सहयोगीसम्म पुर्याउने लगायतका काम गरेका थिए ।
क्रिसले यसअघि दाइलाई केही सल्लाह दिएको मात्रै बताएका थिए । तर, नोभेम्बर २९ मा सार्वजनिक रिपोर्टहरूले थप कुराहरू बाहिर ल्याएको हो ।६३ वर्षीय एन्ड्र्यू कुमोले सम्भावित महाभियोग लाग्न सक्ने विषयलाई ध्यानमा राख्दै गत अगस्तमा गभर्नर पदबाट राजीनामा दिएका थिए । त्यसपछिको अनुसन्धानले उनले कम्तीमा ११ महिलालाई यौन दुर्व्यवहार गरेको देखाएको छ ।