arrow

आईपीयूको सभामा सभामुख सापकोटाका दुई वटा सम्वोधन, के भने ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १३ सोमबार
agni-sapkota-24233.jpg

काठमाडौं । अन्तर व्यवस्थापिका संघ (ईपीयू) को १४३ औं सभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंसिर ८ गते स्पेन गएका सभामुख अग्निप्रसाद सापकोटाले मड्रिडमा दुइ वटा सम्वोधन गरेका छन् । 

सभामुख सापकोटाले हिजो आइतबार आईपीयूको १४३ औं सभालाई सम्वोधन गरे भने सोही दिन असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्वोधन गरे । 

स्पेनमा २६ देखि ३० नोभेम्बरसम्म चल्ने आईपीयू सम्मेलनको समापनपछि सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल यही मंसिर १६ गते बिहान नेपाल फर्कने छ ।

के भने उनले सम्वोधनमा– (जस्ताको त्यस्तै)

आई पी यू सभाको यस सत्रका महामहिम अध्यक्ष,
संसदका सभामुखहरु,
अन्तर व्यबस्थापिका संघका अध्यक्ष,
संसदका सदस्यहरु,
प्रतिष्ठित सहभागी र पर्यवेक्षकहरू,

सबैभन्दा पहिले मलाई यो सभामा सहभागी हुन आमन्त्रण गर्नु भएकोमा नेपालको संघीय संसदको प्रतिनिधिमण्डलको तर्फबाट म स्पेनको संसद र आई पी यूलाई धन्यवाद दिन चाहन्छु । हाम्रो आगमनदेखि नै मलाई र मेरो प्रतिनिधिमण्डलप्रति गरिएको न्यानो आतिथ्यताका लागि म सरकार, संसद र स्पेनका जनताप्रति हार्दिक आभार प्रकट गर्दछु । 

आजको बहसको लागि छनोट गरिएको विषय, ‘लोकतन्त्रको समकालिन चुनौती ः विभाजनमाथि विजय र समुदाय निर्माण’ समय सापेक्ष छ र यसले समकालिन विश्वका उदीयमान मुद्दाहरूको वास्तविकता झल्काउँछ । अन्तर्राष्ट्रिय समुदायलाई सुदृढ बनाउन विभाजनलाई जित्नका लागि हुने छलफलले राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी समस्यालाई सबैको हितमा सम्बोधन सफल हुने छ । 

इतिहास देखिनै मानिसहरूले निर्णय प्रक्रियामा सहभागिताको लागि प्रयास गरेका छन् । यसले बताउँछ कि लोकतन्त्र किन शासनको अन्तिम स्वरूपको रूपमा विकसित भएको छ किनभने यसले व्यावहारिक रूपमा सम्भव भएसम्म राष्ट्रिय नीति निर्माणमा मानिसहरूलाई धेरै भूमिका दिन्छ । शासनको सबैभन्दा मनपर्ने  स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित छैन ।

सूचना पहिले भन्दा आज धेरै सजिलो र व्यापक रूपमा पहुँचयोग्य छ । सामाजिक सञ्जालको अत्याधिक फैलावटको अर्थ हो कि जो कोहीले पनि आफूले भन्न चाहेको कुरा सजिलैसँग भन्न सक्छन् र उनीहरूले के भनेका छन् भन्ने कुरा ठूलो जनसंख्याले सुनेको छ । तर सूचना फैलाउन के प्रयोग गर्न सकिन्छ, गलत सूचना फैलाउन सजिलै प्रयोग गर्न सकिन्छ । तातो आदान प्रदान, गलत तथ्यांक, भ्रामक तथ्यांक, क्रोध र निराशा सबै कुरा छिटो र चाँडो फैलिन्छ । यसले राजनीतिक संस्थाहरूप्रति जनताको विश्वासलाई कमजोर बनाइदिएको छ । 

यी चुनौतिहरूको प्रकाशमा, जनताको विश्वास पुनः प्राप्त गर्न राजनीतिक संस्थाहरूले प्रभावकारी रूपमा जवाफ दिन आवश्यक छ । विभाजन लोकतन्त्रका लागि राम्रो होइन, यसले रिस र घृणा निम्त्याउँछ । विभाजनको मूल कारण केही समूहहरूले आफूलाई छाडिएको महसुस गर्नु हो । ती समूहहरू किन यस्तो महसुस गर्छन् भनेर पहिचान गर्नु महत्वपूर्ण हुन्छ । तिनीहरूलाई निर्णय प्रक्रियामा समावेश गर्नु महत्वपूर्ण छ । सीमान्तकृत वर्गलाई राष्ट्रिय जीवनको मूलधारमा ल्याउन जरुरी छ । 

संसद लोकतन्त्रको जीवित स्वरुप हो जहाँ जनताले शान्तिपूर्ण तरिकाले आफ्ना शासकहरू परिवर्तन गर्न सक्छन् । जहाँ जनप्रतिनिधिहरूले कमजोर वर्गलाई न्याय र निष्पक्षता सुनिश्चित गरेर विश्वास र सम्मान कमाउँछन् । त्यसको अभावमा जनताल यो लोकतान्त्रिक प्रणालीले पनि काम गर्छ कि गर्दैन भन्ने प्रश्ने उठाउँछन् ।   

लोकतन्त्रले काम गर्छ र यसले गर्नुपर्छ । त्यसो भएन भने केही हुँदैन । यसले काम गर्छ भन्ने जनतालाई विश्वास दिलाउने कार्यभार हामीमा छ । हामीले लोकतान्त्रिक प्रक्रियामा उनीहरूको संलग्नता बढाउनै पर्छ । विभाजन हटाउन र समुदाय निर्माण गर्न, हामीले कोही पनि पछाडि नछोडिने  सुनिश्चितता गर्नु पर्दछ । 

महामहिमहरु,

म यस अवसरमा उल्लेखित चुनौतिहरूलाई सम्बोधन गर्दै लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्नेतर्फ नेपालले गरेका पहलहरू पेश चाहन्छु । धेरै समुदायको सीमान्तीकरणको लामो इतिहासले सिर्जना गरेको निराशाले समावेशी संविधान सभाको गठन गर्यो । संविधान सभाले सहभागितामूलक र समावेशी लोकतन्त्रका आधारभूत कुराहरूलाई समेट्ने अधिकारमा आधारित संविधान २०७२ सालमा जारी गरेको थियो । 

नेपालले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमा आधारित समाज स्थापना गर्न पूर्ण प्रतिबद्धता जनाएको छ । अहिलेसम्मको नतिजाले समावेशी र एकतावद्ध समाज निर्माण गर्ने प्रतिज्ञा गरेको छ । तीनै तहको शासन व्यवस्थामा समावेशी लोकतन्त्रको दर्शनलाई आत्मसात् गरिएको छ । अहिले संघीय संसदमा एक तिहाइ र प्रदेश र स्थानीय तहमा झण्डै ४१ प्रतिशत महिला छन् । यी सकारात्मक कार्यले सीमान्तकृत समुदायहरूलाई साथमा लिएर प्रतिनिधित्व गर्ने शासन संरचना सिर्जना गरेको छ । 

आई पी यू सभा मार्फत हाम्रा एकीकृत प्रयासहरूले शान्ति र सुरक्षा प्रवद्र्धन गर्न र न्यायपूर्ण समाज निर्माण गर्न राजनीतिक नेतृत्वको काममा सहयोग पुग्नेमा म पूर्ण विश्वस्त छु । विश्व शान्तिका लागि सामाजिक विभाजनका नयाँ चुनौतीहरू सामना गर्न नवीन समाधानका लागि ठोस कार्यहरू आवश्यक छन् । 

आई पी यू सभा एक असाधारण मञ्च हो, जसले समकालिन मुद्दाहरूमा छलफल गर्न विश्वभरका विधायकहरू र नीति निर्माताहरूलाई एकसाथ ल्याउँछ । पछिल्ला दुई वर्षमा आई पी यूका गतिविधिहरु विश्वव्यापी महामारीका कारण प्रभावित भएका छन् । यस्तो कठिन समयमा पनि आई पी यूलाई सक्रिय राख्न आई पी यू सचिवालयको समर्पण र प्रयासको म उच्च प्रशंसा गर्दछु । म स्पेनको संसदलाई पनि सफलतापूर्वक यो सभा आयोजना गरेकोमा बधाई दिन्छु, जुन अहिलेसम्मको सबैभन्दा चुनौतीपूर्ण आई पी यू सम्मेलनहरू मध्ये एक भएको छ । 

म विश्वस्त छु कि यस विश्वव्यापी सम्मेलनमार्फत विचारको रचनात्मक आदानप्रदान र सृजनात्मक संकल्पहरू अवलम्बन गरी हामी आगामी दिनहरूमा सँगै काम गर्न सक्षम हुने छौं । यस सभाबाट  सफल नजिताका लागि म र मेरो प्रतिनिधिमण्डलको तर्फबाट सहयोग र ऐक्यबद्धता रहने छ ।  
सबैमा धन्यवाद । 

०००००००००
असंलग्न आन्दोलनको सञ्जाल (नाम) म्याड्रिड बैठकमा नेपालको संघीय संसद,  प्रतिनिधि सभाका सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको मन्तव्य, 
२८ नोभेम्बर २०२१

महामहिम मेडम साहिबा गफारोवा, 
महामहिमहरू,
महिला तथा सज्जनवृन्द, 

सभामुख महोदयलाई असंलग्न आन्दोलनको संसदीय सञ्जाल (नाम) को बैठक आयोजना गर्नु भएकोमा बधाई दिएर आफ्नो भनाई सुरु गर्दछु । मैले संसद र अजरबैजान सरकारलाई आन्दोलनको उत्कृष्ट नेतृत्वको लागि हाम्रो निष्कपट  प्रशंसाको अभिलेखमा राखेको छु । 

सभामुख महोदय, 
संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेलगायतका उद्देश्यका साथ नाम को स्थापना भएको हो । 
‘ग्लोबल साउथ’का कुनै पनि देश र जनता विरुद्ध हुने सबै प्रकारको अन्यायपूर्ण र अनुचित व्यवहारको अन्त्य गर्ने लक्ष्य नाम हो । शीतयुद्धका कारण बढ्दो विभाजनको बीचमा हाम्रा नेताहरू सामूहिक हितको रक्षा गर्न दृढ भएर उभिए ।
विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरू देख्दा नाम को सान्दर्भिकता आज पनि यथावत छ । विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् ।  

यी चुनौतिहरू रहँदासम्म नाम सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् । 

सभामुख महोदय,

संसदले जनताको प्रतिनिधित्व गर्छ । जनताले सार्वभौमसत्ता जोगाउनका लागि संसदलाई आफ्नो जनादेश दिन्छन् । विधायिकी अधिकारमार्फत अन्तर्राष्ट्रिय दायित्वहरू प्रयोगमा आउँछन् । संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले नाम का सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास लिएको छु । नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन् । 

नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।  

अन्त्यमा, म नाम ले समकालिन चुनौतिहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्ने कुरा दोहोर्याउन चाहन्छु । हामीले साझा लक्ष्य हासिल गर्न सामूहिक शक्ति निर्माण गर्नुपर्छ । म यी लक्ष्यहरू प्राप्त गर्न सहभागी प्रतिष्ठित प्रतिनिधिहरूसँग काम गर्ने मेरो प्रतिनिधिमण्डलको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्याउँछु  । 

तपाईंहरुलाई धन्यवाद । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ