केएमसीको शिविरबाट धुलिखेलका १३ सय बिरामी लाभान्वित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
876
Shares
काभ्रे । काभ्रेको धुलिखेलमा काठमाडौं मेडिकल कलेजले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । धुलिखेल नगरपालिका ८ नं.वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।
शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०९ जनाको ल्याब टेष्ट र १९१ जनाको इसीजीसहित १ हजार ३६५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए । शिविरमा हाडजोर्नी तथा नसा, दात, आँखा, प्रसुती तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटीलगायत समस्याका बिरामीहरु उपचारका लागि आएका थिए ।
यसअघि केएमसीले काठमाडौंसहित ललितपुर, भक्तपुर, धादिङ्ग लगायत जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि ग्रामिण क्षेत्रका बिपन्न विरामीलाई लक्षित गरी केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो ।
स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।