कालिमाटीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ९६३ ले लिए सेवा
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
778
Shares
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले बिहीबार काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी तरकारी बजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय कपिङ्गल बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर केएमसीले नारायणी कम्प्लेक्स कालीमाटी तरकारी बजारमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा ९६३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनेरल म्यानेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार २०३ बिरामीको रक्त परीक्षण, १९७ बिरामीको भिडियो एक्सरे र १६४ जनाको ईसीजी गरिएको छ ।
त्यस्तै २९ जना बिरामीको दाँत निकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ६३ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ ।
शिविरमा केएमसीको जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोगलगायत विभागका विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि बिभिन्न जिल्लामा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।