नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
668
Shares
काठमाडौँ । पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८औँ वार्षिक उत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई दश जोड दुई (प्लस टु) पछिको चार वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका हुन् ।
“वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग गर्नुहुँदैन, बालबालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भने तुरुन्त कारबाही गर्नेछु, म आफू पनि तलमाथि गर्दिन र अरुलाई पनि गर्न दिन्न, विद्यार्थीको भविष्यमा खेलबाड गर्ने कसैको अधिकार छैन”, उनले भने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थासमेत आफूले सुधार गरेको मन्त्री आलेले बताए ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले विद्याश्रमलाई महाविद्यालय बनाउन कोषले काम अघि बढाउन लागेको जानकारी दिए । महाविद्यालयलाई स्तरोन्नति गर्दै विश्वविद्यालयकै रूपमा विकास गर्ने सोचसमेत रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल वेद विद्याश्रमका उत्कृष्ट शिक्षक तथा विभिन्न प्रतियोगितामा विजयी हुने छात्रलाई पुरस्कृत गरिएको थियो ।