एक महिनासम्म चलेको दरभंगा प्लेनमको अर्थ, जहाँ रोए तुलसीलाल
महासचिव केशरजंग रायमाझी दरबारसँग मिले, जेलबाट छुटे एक महिनामै
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
1.4k
Shares
राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद विघटन गरे । त्यसको २१ दिनपछि सम्पूर्ण पार्टीहरूमाथि प्रतिबन्ध लगाए । दलमाथिको प्रतिबन्धले कम्युनिस्ट आन्दोलनमा पनि त्यसको गम्भीर असर पर्यो । अन्य पार्टीहरूभैmं नेकपाका केही नेता र कार्यकर्ताहरू गिरफ्तार भए ।
२०१७ साल कार्तिक महिनामा सोभियत संघको मास्कोमा आयोजित विश्व कम्युनिष्ट सम्मेलनमा भाग लिन गएका नेकपाका महासचिव केशरजंग रायमाझीले त्यहींबाट राजाको फौजी कदमलाई प्रगतिशील कदम भनी स्वागत गरे । तर पुष्पलालको नेतृत्वमा नेकपाको पोलिटब्यूरोले सैनिक आतंकको संज्ञा दिंदै त्यसको विरोध गर्यो र संसदीय दलहरूको सम्मेलनको माग गर्यो ।
माघ महिनामा रायमाझी सोभियत संघबाट फर्केपछि पार्टीमाथिको प्रतिबन्ध हटाउने, राजबन्दी रिहाइ तथा मौलिक अधिकारको माग गरियो । विघटित संसदका बारेमा भने कुनै कुरा अघि सारिएन । संसदको विघटनपछि २०१७ साल फागुनमा भारतको दरभंगामा नेकपा केन्द्रीय समितिको विस्तारित बैठक (प्लेनम) बस्यो । चर्को विवादको कारण बैठक एक महिनासम्म लम्बियो ।
यस बैठकलाई नेकपाको इतिहासमा दरभंगा प्लेनम भनिन्छ । यस बैठकमा तीन लाइन देखियो । वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रका पक्षमा रहेका केशरजंग रायमाझीलगायत केन्द्रीय समितिका बहुमत सदस्यहरू संसदीय व्यवस्थाको स्थापनाका विपक्षमा रहे । विघटित संसदको पुनस्र्थापना र संयुक्त जनआन्दोलनको पक्षमा पुष्पलाल रहे ।
संविधान सभाको चुनावको पक्षमा बैठकको बहुमत रह्यो । यसको नेतृत्व मोहनविक्रम सिंहले गरेका थिए । यसमा मोहनविक्रम बाहेकका अन्य सबै सदस्यहरू केन्द्रीय समितिभन्दा बाहिरका थिए । दरभंगा प्लेनमले पार्टीमा देखा परेको मतभेदलाई निराकरण गर्न नौ महिनाभित्र महाधिवेशन बोलाउने, नेपाललाई पाँच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रलाई एक–एक जना पोलिटब्यूरो सदस्यको जिम्मामा दिने र राजावादी रुझानका कारण रायमाझीलाई महासचिवबाट हटाएर तीन जनाको सचिवालय बनाउने तथा त्यसको कार्यालय काठमाडौंमा राख्ने निर्णय लियो ।
सचिवालयमा केशजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डी.पी. अधिकारीलाई राख्ने निर्णय भयो । पछि केन्द्रीय समितिले प्लेनमको निर्णय मान्न केन्द्र बाध्य छैन भन्दै रायमाझीको लाइनलाई नै अघि सार्यो ।
दरभंगा प्लेनमद्वारा गठन गरिएको सचिवालय पनि विवादमुक्त रहेन । केन्द्रीय समितिले चार–पाँच वर्षसम्म महाधिवेशन गर्न नसकिने धारणा अघि सार्न थाल्यो । २०१९ सालमा सचिवालय सदस्य शम्भुराम श्रेष्ठ पनि गिरफ्तार भए । परिणामस्वरूप दरभंगा प्लेनमको धारणा तत्कालीन केन्द्रीय समितिबाट कार्यान्वयन हुने सम्भावना पूर्णतः हराएर गयो । केन्द्रीय समितिमा रायमाझी र पुष्पलाल बीचको मतभेद अझ तीव्र भयो ।
दरभंगा प्लेनमको समयमा केशरजंग राति–राति राजाको दूत दामोदर शमशेरसँग भेट्ने गरेको रायमाझीलाई आरोप लाग्यो । त्यो रहस्य खुलेपछि प्लेनममा नै मोहनविक्रमले केशरजंगलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखे । त्यो प्रस्ताव आउनासाथ तुलसीलाल ‘अब पार्टी फुट्ने भयो’ भनेर रोएका थिए । त्यसपछि प्लेनमको वातावरण फेरियो । मोहनविक्रमको प्रस्तावमा छलफल नै भएन । छिटै रायमाझी, राजासित मिलेको कुरा स्पष्ट भयो ।
बिहारको दरभंगामा रहेका रायमाझी काठमाडौं पुगेपछि जेल परे । तर उनी एक महिनामै छुटे । ‘केन्द्रीय कमिटीको कुनै पनि सदस्य जेल परेमा कागज गरेर, माफी मागेर वा राजा र पञ्चायती व्यवस्थालाई समर्थन गरेर नछुट्ने’ प्लेनमको निर्णय थियो । पार्टीको महामन्त्री नै एक महिनापछि कसरी जेलबाट छुटे भनी सबैतिर प्रश्न र शंकाको विषय बन्यो ।
त्यो वेला तुलसीलाल र मोहनविक्रमहरू दरभंगामा नै थिए । उनीहरुले रायमाझीबारे सत्यतथ्य पत्ता लगाउन भरतमोहन अधिकारीलाई काठमाडौं पठाए । त्यो बेला मनमोहन अधिकारी र रायमाझी एकै ठाउँमा नजरबन्दमा थिए ।
भरतमोहनले गएर मनमोहनलाई भेटेपछि अन्ततः रायमाझी दरबारसँग मिलेर नै छुटेको भन्ने प्रमाणित भयो । यसरी नेकपाभित्र दरभंगा प्लेनमबारे बहस हुने गरेको छ । कम्युनिष्ट पार्टीभित्र यसको बहस निरन्तर चलिरहन्छ ।