सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबिसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
421
Shares
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रविसेदेखि नेपाल चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका छन् ।
उनीहरुले २०७७ साल असार २४ गते राती आएको बाढी र पहिरोले पुरिएको जम्बु बस्ती क्षतिग्रस्त सडक, पुल र सो क्षेत्रको अवलोकन गरे । त्यसपछि हरेक बर्ष पहिरो गएर सडक अवरुद्ध भइरहने इको एरिया, बाढीले क्षति पुगेको लिपिङ पुल र नेपाल चीन सिमा क्षेत्र मितेरी पुलको पनि अवलोकन गरेका छन् ।
अवलोकनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलगायतका सरकारी अधिकारीहरु, राजनीतिक दलका नेताहरु, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, भोटेकोशी गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरु र स्थानीयको उपस्थिति थियो ।
अवलोकनका क्रममा उनीहरुले भूकम्प, केही बर्ष यताको लगातारका बाढी पहिरोका कारण जीर्ण बनेको सडक र तातोपानी नाकाबाट हाल भइरहेको आयात निर्यातबारे जानकारी लिएका थिए । अवलोकपछि सभामुख सापकोटा र मन्त्री शर्मा तातोपानी भन्सार कार्यालयमा आयोजित सडक पूर्वाधार तथा वाणिज्य व्यापार सम्बन्धी छलफलमा सहभागी भएका थिए ।
छलफलमा सभामुख सापकोटाले बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माण लगायतका विकास कार्यलाई बहुवर्षिय योजनाको रुपमा लैजानु पर्ने आवश्यकता औंल्याए । उनले त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
नेपाल चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्ग समेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए । भूकम्प, बाढी र पहिरो जस्ता विपत्तिका कारण बाह्रविसेदेखि तातोपानीसम्मको सडक व्यवस्थित गर्न चुनौति भएको उनको भनाइ थियो ।
सभामुख सापकोटाले सीमा नाकाबाट आयात निर्यात सहजिकरणका लागि चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जानकारी दिँदै छिट्टै थप सहज हुने विश्वास व्यक्त गरे । उनले सो सडक खण्ड सुधारका लागि सरकारी प्रतिवद्धता अनुसार परिणाम आउने गरी काम अघि बढ्ने विश्वास व्यक्त गरे ।
छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सडक सुदृढीकरण र नाका ब्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए । मन्त्री शर्माले सो क्षेत्रको सडक निर्माणका लागि अर्थ र भौतिक मन्त्रालयका सचिबले समन्वय गरेर कार्य गर्न निर्देशन दिए ।
उनले सरकारले चीनसँग समन्वय गरेर सडक निर्माण र भन्सार सहजीकरणका लागि पलह गर्ने जानकारी दिँदै राजमार्ग व्यवस्थित गर्न काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । भन्सार विभागका महानिर्देशक सहितको सो छलफल भूकम्प, बाढी र पहिरोका कारण बिग्रेको अरनिको राजमार्ग अन्तरगत बाह्रबिसे तातोपानी खण्डको ब्यवस्थित निर्माण र नाकाको सहज सञ्चालनमा केन्द्रीत रहेको थियो ।
छलफलमा स्थानीय जनप्रतिनिधि र व्यवसायीहरुले जुरे पहिरो देखि सीमा नाका सम्मको सडकलाई सरकारले प्राथमिकता दिनुपर्ने, बाढी र पहिरोका कारण जोखिममा रहेको बस्ती संरक्षणमा ध्यान दिइनु पर्ने, हाल सडक सुधारका लागि कार्यरत चिनियाँ पक्षसँग माथिल्लो स्तरबाट समन्वय गरी उनीहरुबाट चिनियाँ भूमिका जस्तै गुणस्तरीय निर्माण कार्य गर्ने व्यवस्थाका लागि सभामुख र अर्थ मन्त्रीमार्फत पहल हुनुपर्ने धारणा राखेका थिए ।
सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत रहेको सो स्थानमा २०७१ साल यता लगातार ठूला प्राकृतिक बिपत्तिले सडक मार्ग नराम्ररी बिग्रन पुगेको छ । जसका कारण सबैभन्दा बढी अरनिको राजमार्ग अन्तरगत बलेफीदेखि नेपाल चीन सीमा नाकासम्मको सडक खण्डमा क्षति भएको छ ।
२०७१ साउन १७ गतेको जुरे पहिरोदेखि बिग्रेको राजमार्ग क्षेत्र पुनर्निर्माण नहुँदै २०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पबाट बिग्रन पुग्यो । केही सुधारका काम हुँदै गर्दा २०७३ असार २१ गते आएको भोटेकोशी बाढीले अरनिको राजमार्ग अन्तरगतका धेरै स्थानमा क्षति पुगेको हो ।
२०७४ साउन ८ गते रातीको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बनेको थियो भने अरनिको राजमार्ग अबरुद्ध बन्न पुगेको थियो । २०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगाएपछि सो क्षेत्रको सकको अवस्था थप जीर्ण बन्न पुग्यो ।
२०७७ असार २४ गते राती बाह्रविसे नगरपालिका वडा नं ५ को जम्बु बजार क्षेत्र र बाह्रविसे कै खागदलमा बाढी पहिरोले बस्ती र सडक परियो भने पक्कि पुल समेत बगेको थियो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे, डाकलाङ र लार्चामा पनि पक्कि पुल सहित सडकमा ठूलो क्षति भएको थियो ।
२०७६ सालको अन्त्यबाट विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ महामारीका कारण लामो समयसम्म उत्तरी सीमा नाका बन्द रहेको थियो । भूकम्पपछि सभामुखको पहलमा खुलेको तातोपानी नाका ब्यवस्थित गर्न र राजमार्ग व्यवस्थित गरी सुचारु गर्न सभामुख सापकोटाको पहलमा काम हुँदै आएको छ ।