शिवम् सिमेन्ट्सको साधारणसभा सम्पन्न, शेयरधनीलाई २९ प्रतिशत लाभांश दिने
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
549
Shares
काठमाडौँ। शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसके पछिको छैटौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्तिक १६ गते मङ्गलवार कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा शेयर धनीहरूको जुम भर्चुअल माध्यमबाट समेत सहभागिता जनाइ साधारण सभा सम्पन्न भएको हो।
उक्त वार्षिक साधारण भाले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजी रु. ४ अर्ब ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने करसहित) हुन आउने रु. १ अर्ब २७ करोड ६० लाख मात्र नगद लाभांश रकम वितरण गर्ने प्रस्तावसहित कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितका संलग्न विवरणहरू, आर्थिक वर्ष २०७८–७९ को आय व्ययको लेखा परीक्षण गर्न सुबोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौँलाई लेखा परीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरू पारित गरेको छ।
शिवम् सिमेन्ट्सले सर्वसाधारण शेयरधनीको बैङ्क खातामा शेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत नगद लाभांश वितरण गर्ने कार्यक्रम रहेकोले आ–आफ्नो नामको बैङ्क खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिक नगरेको भए अद्यावधिक गरी नगद लाभांश प्राप्त गर्न पनि आग्रह गरेको छ।
कम्पनीका प्रवक्ता एवं कम्पनी सचिव लेखनाथ अर्यालले जारी गरेको सूचनामा मङ्गलवार आयोजित आर्थिक वर्ष २०७७–७८ को वार्षिक साधारण सभा सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण शेयर धनीलगायत सबैमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका छन्।