चौथो बेलबारी गोल्डकप : झापालाई हराउँदै हिमालयन शेर्पा फाइनलमा
विवेक मिश्र,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
890
Shares
मोरङ । हिमालयन शेर्पा क्लब काठमाडौँ बेलबारी गोल्ड कपको फाइनलमा पुगेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३-१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।
खेलको १६ ओं मिनेटमा हिमालयन शेर्पा का विदेशी खेलाडी पिस्टन मुतुम्वाले गोल गरे । हिमालयनका कप्तान विश्वास श्रेष्ठले पोस्टमा प्रहार गरेको बल रोलिङ क्लबका गोल रक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गर्दै सानो डिबक्समा पञ्च गरे । सोही बललाई कुनै गल्ती नगरी पिस्टनले जाली चुमाएका थिए ।
मध्यान्तर पछि हिमालयन शेर्पाले रोलिङलाई दबाबमा राख्यो । रक्षात्मक देखिएको रोलिङ क्लब विरुद्ध हिमालयनका विश्वास श्रेष्ठले खेलको ५० ओं मिनेटमा थप १ गोल गरे ।
जापानी खेलाडी रियो नाकामुराले प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा झर्न नपाउँदै विश्वास श्रेष्ठले बललाई जाली चुमाए। लगत्तै २ मिनेट पछि हिमालयन शेर्पाका विसोन गुरुङले १ गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।
खेलको ५७ ओं मिनेटमा रोलिङ क्लब झापाका ड्याडी वाम्बाले टिमका लागि सान्त्वना गोल गरे ।रोलिङका बबिन बोहरालाई डिबक्स भित्र लडाएपछि रोलिङले पेनाल्टी सुटको अवसर पायो ।सोही अवसरलाई ड्याडी वाम्बाले गोलमा परिणत गरे ।
हिमालयन शेर्पाका त्रिदेव गुरुङले म्यान अफ द म्याचको उपाधिसँगै नगद ५ हजार ५ सय रुपियाँ प्राप्त गरे । मङ्गलवार दोस्रो सेमिफाइनल खेल राजा रानी(रारा) फुटबल क्लब धनकुटा र सशस्त्र प्रहरीको एपीएफ क्लब बिच हुनेछ ।