काठमाडौँ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरी माया भन्दा ठुलो कुरा पैसा नहुने बताएका छन् । खेलकुद मन्त्रालयले आइतबार गरेको विशेष कार्यक्रम उनले यस्तो बताएका हुन् ।
मालदिभ्स बसाइँको क्रममा विभिन्न देशले ठुलो रकममा आफूलाई प्रशिक्षकका लागि प्रस्ताव गरे पनि नेपालीहरूको माया सम्झिएर आफू पुन नेपाल फर्किएको बताए । अल्मुताईरीले भने, “नेपालीहरूको माया सम्झिएर आफू पुन नेपाल फर्किए । माया भन्दा ठुलो कुरा पैसा होइन ।”
विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काएका छन् । अल्मुतारीले नेपाल र नेपालीहरूको मायाले आफू पुन नेपाल फर्किएको बताए ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज (अथक) ले अल्मुताईरीलाई दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरे । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कायम राख्दै काम गर्न आग्रह गरे ।
नेपालको खेलका दौरान तथा आफू मालदिभ्समा रहँदा समेत खेलकुद मन्त्रीले आफूलाई निरन्तर टेलिफोन गरेर हौसला प्रदान गरेको र नेपाल आए लगत्तै मन्त्रालयमा बोलाएर स्वागत गरेकोमा अल्मुताईरीले मन्त्री अथक र मन्त्रालय प्रति आभार व्यक्त गरे ।
शनिवार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्ष नेपालका लागि फुटबल प्रशिक्षकका रूपमा काम गर्नेछन्।