arrow

प्रदीप यादवलाई जसपाको तीन दिने अल्टिमेटम, स्पष्टीकरण चित्त नबुझे कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
pradip-yadav-jasapa.jpg
फाइल तस्बिर

काठमाडौँ। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष उपेन्द्र यादवकै पुत्ला जलाएका जसपाका सांसद प्रदीप यादवलाई तीन दिन भित्र स्पष्टीकरण बुझाउन भनिएको छ। पार्टी स्रोतले दिएको जानकारी अनुसार आइतबार ३ दिने स्पष्टीकरण सोधिएको हो।

स्पष्टीकरण चित्त बुझ्दो नभए कारबाही गर्ने चेतावनी दिइएको छ। दसैँ अगाडि प्रदीप यादवले आफ्ना कार्यकर्ताहरूलाई काठमाडौँमा बोलाएर पार्टी कार्यालयमा उपेन्द्र यादवको पुत्ला जलाएका थिए। साथै यादवविरुद्ध नाराबाजी गर्न लगाएका थिए। मन्त्री नबनाएको झोँकमा प्रदीप यादवले वीरगन्जमा पनि अध्यक्षविरुद्ध नाराबाजी गरेका थिए।

पार्टी स्रोतका अनुसार यादवलाई सोधिएको स्पष्टीकरणमा चित्त नबुझेका कुरा पार्टीभित्र भन्नु पर्नेमा उल्टै पार्टी कार्यालयमा पार्टीको झण्डा जलाइएको, अमर्यादित अभिव्यक्ति दिएको, पार्टी कार्यालय तोडफोड गरिएको जस्तो आरोप लगाइएको छ।

अध्यक्ष यादवले प्रदीप यादवलाई स्पष्टीकरण सोधेको यो पहिलो पटक होइन। ३ वर्ष अघि पार्टीलाई जानकारी नदिई फ्री तिब्बत कार्यक्रममा सहभागी भएको भन्दै प्रदीप यादवलाई स्पष्टीकरण सोधिएको थियो। स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई ६ महिना निलम्बन समेत गरिएको थियो।

पछिल्लो पटक प्रदीप यादवले पार्टी अध्यक्ष यादवसँग सम्बन्ध राम्रो बनाएका थिए। त्यसैले यस पटक मन्त्री हुनेमा उनी ढुक्क थिए। अध्यक्ष यादवले मन्त्री बनाउने आश्वासन पनि दिएका थिए। तर मन्त्रीको सूचि बुझाउने बेलामा प्रदीप यादवको नाम काटियो। त्यसैले उनी अध्यक्ष यादवसँग आक्रोशित भएका छन्। आक्रोशित भएको बेला उनले पार्टी अध्यक्षको पुत्ला जलाउने तथा नाराबाजी गर्ने काम गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ