arrow

प्रशासनमा बेथिति

कर्मचारी नेताको रवाफ, २५ वर्षसम्म एउटै कार्यालय

logo
आकाश शर्मा,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
karmachari-neta420.jpg

काठमाडौं । एक त सरकारी कर्मचारी त्यसमा पनि कर्मचारीको नेता भएपछि उसले रोजेको ठाउँमा कार्यालय पाउँछ । काठमाडौं बाहिर जानु पनि पर्दैन । अझ आफू निकट पार्टी सरकारमा गएपछि कर्मचारीहरुको सरुवा, बढुवासमेत उसले मिलाउने गर्छ । सरुवा बढुवा हुन चाहने कर्मचारीहरु मन्त्री, सांसदको घरमा जान्नन् । कर्मचारी नेताको घरमा पुगे काम हुन्छ । 

जागिर शुरु गरेदेखि नायब सुब्बादेखि उपससचिवसम्म करिब २५ वर्षको अवधिमा पून्य ढकालले गृह मन्त्रालय छाड्नु परेको छैन । ढकाल एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनको पूर्व अध्यक्ष पनि हुन् । 

उपसचिव र उपसचिवभन्दा माथिका कर्मचारी कर्मचारीहरुको संघ, संगठनमा प्रत्यक्ष सहभागी  हुन नपाउने  कानूनी वाध्यताको कारण उपसचिवमा बढुवा भएपछि ढकालले टे«ड युनियनको अध्यक्षबाट राजीनामा गरे । 

उपसचिवमा बढुवा नहुँदासम्म उनी कर्मचारी संगठनको विभिन्न पदमा सक्रिय रहे । उपसचिवमा बढुवा हुने वित्तिकै उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले  सहसचिवको दरबन्दीमा पाँचथरको प्रमुख जिल्ला अधिकारी बनायो ।  

यहाँ सम्मकि सहसचिवलाई गृहमा फिर्ता बोलाएर उपसचिव ढकाललाई पाँचथर पठाइयो । प्रजिअ भएर पाँचथर नपठाउँदासम्म ओली सरकारले उनलाई गृहमन्त्रालय मातहतको कर्मचारीहरुको सरुवा बढुवा हेर्ने कर्मचारी प्रशासन महाशाखामा राख्यो । 

सरकारको नेतृत्व फेरियो । देउवा सरकारले उनलाई पाँचथरबाट फिर्ता बोलायो तर गृहबाट अन्य कार्यालयमा सरुवा गरेन । सरकार फेरिए पनि उनी काठमाडौंं बाहिर जानु परेन । ‘सरकारको नेतृत्व फेरिए पनि ढकालको सेटिङ भत्किएन’ गृहका एक कर्मचारी भन्छन् । प्रशासन सेवाका ढकाल फेरि गृहमन्त्रालयमा फर्किएका छन् । 

ढकाल एमाले निकट कर्मचारी नेता हुन् । एमालेको विवादमा उनले केपी ओलीलाई साथ दिएका थिए । 

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पूर्व अध्यक्ष मोहनकुमार घिमिरे पनि १२ वर्षदेखि पर्यटन मन्त्रालयमै छन् । 

कार्यालयमा जानु भनेको केबल हाजिरी गर्नुमात्र हो । कार्यालय बाहिर बसेर कर्मचारी सरुवा बढुवामै उनको चासो हुने गर्छ । घिमिरे माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाी एकीकृत समाजवादी निकट कर्मचारी नेता हुन् । 

एमाले कर्मचारी संगठन विभाजित भएपछि माधव नेपाल निकट कर्मचारीहरुले घिमिरेलाई आधिकारिक टे«ड युनियनको अध्यक्षमा सिफारिश गरेका छन्  । तर आधिकारिक टे«ड युनियनको अध्यक्ष को हो भन्नेमै अहिले विवाद छ । 

पम्फा भुषाल सामान्य प्रशासन मन्त्री हुँदा भुषालले घिमिरेलाई पर्यटनभन्दा बाहिर सरुवा मिलाउने कोशिश गरेकी थिइन् । तर कर्मचारी नेताको अगाडि मन्त्रीको पनि केही लाग्दैन–स्रोतले भन्यो । 

माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि राउलको रवाफ पनि उस्तै हो । उनी लामोसमयदेखि मिनभवनस्थित सहकारी प्रशिक्षण केन्द्रमा छन् । 

आफू त थिए नै अहिले उनले आफ्नी पत्नीलाई समेत त्यहाँ सरुवा मिलाएका छन् । पत्नीको  पद मिलाउनको लागि राउलले लेखा अधिकृतको दरबन्दी कटाएका थिए । 

कर्मचारी नेताहरुको सरुवा काठमाडौ बाहिर हुँदैन । जीवनभर काठमाडौंमै बस्ने गर्छन् । बढुवा हुनको लागि एक वर्ष काठमाडौं बाहिर बसे पनि तुरुन्तै काठमाडौंमै फर्कने गर्छन् । 

बढुवा हुनको लागि कम्तीमा एक वर्ष दुर्गम ठाउँ बस्नु पर्ने कानूनी बाध्यता छ । त्यसकारण कहिलेकाहिँ काठमाडौंं बाहिर जाने गर्छन् । 

कर्मचारी नेताहरु काठमाडौंमै रहेका आकर्षक कार्यालयहरुमा जागिरी अवधिभर बस्ने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ