arrow

तालिबानको शासनमा मानव अधिकार कहाँ छ भन्दै माइतीघरमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
santi-samaj-program.JPG

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस २४ अक्टोबरका अवसरमा कार्त्तिक ७ गते मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाई आग्रहसहित काठमाडौँ माइतीघर मण्डलामा धर्ना-प्रदर्शन गरेको छ । 

प्रदर्शनमा राष्ट्रसङ्घ अफगानिस्तानलाई नरक हुनबाट बचाउ, तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिबानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिबानको पहिचान महिलाको अपमान, तालिबानको शासनमा असुरक्षित महिला लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

धर्ना प्रदर्शनमा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिव नम्रता खरेल, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, काठमाडौँ शाखा का.वा सभापति भगवान् पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, पूर्व केन्द्रीय कोषाध्यक्ष वटुकृष्ण ढुङ्गेल, पूर्व केन्द्रीय सदस्य गीता तिम्सिना लगायत अधिकारकर्मीहरूको सहभागिता थियो ।

यसै गरी संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसरमा कार्त्तिक ७ गते शान्ति समाजका चितवन, दाङ, रुपन्देही शाखाहरूले प्रदर्शन गरेका छन् । बुटवलमा आयोजित प्रदर्शनमा केन्द्रीय सभापति गोविन्द खनालले तालिवानी शासन क्रूरताको पर्याय भएको बताउँदै अफगानिस्तानका नागरिकको मानव अधिकार रक्षाका लागि राष्ट्र सङ्घले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

द्वितीय विश्वयुद्धको समाप्ति लगत्तै १९४५ अक्टोबर २४ को दिन संयुक्त राष्ट्र सङ्घको स्थापना भएको थियो । भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने उद्देश्यले स्थापित संयुक्त राष्ट्रसंघलाई विश्व शान्तिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न मानव अधिकार तथा शान्ति समाजले बारम्बार आग्रह गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ