arrow

बाढी र पहिरामा परी प्रदेश १ मा ५६ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
pradesh11.jpg
फाइल तस्बिर

सुरुङ्गा (झापा)। गत सोमबारदेखि अविरल वर्षा हुँदा प्रदेश १ मा बाढी र पहिरामा परी ५६ जनाले ज्यान गुमाएका छन्। प्रदेश १ को पाँचथरमा सबैभन्दा धेरै २२ जनाले ज्यान गुमाएका छन् भने इलाममा १३ जनाको बाढी र पहिरामा परी मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी २१ जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन्। मिक्लाजुङको कुरुम्बा–५ मा मात्रै १५ जनाको मृत्यु भएको छ।

त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाको मृत्यु भएको छ भने वडा नम्बर ४ रविका एक व्यक्तिलाई खोलाले बजाएर बेपत्ता बनाएको छ। मिक्लाजुङ गाउँपालिकालकै ७ नम्बर वडा लिम्मामा पहिरामा परी दुई जनाको मृत्यु भएको छ। मङ्गलवार राति पहिरामा पर्दा फिदिम  नगरपालिका–४ का दुई जनाको मृत्यु भएको छ। पहिराकै कारण  फाल्गुनन्द गाउँपालिकामा तीन जना र कुम्माय गाउँपालिमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यता इलामका विभिन्न स्थानमा आएको बाढी र पहिराले १३ जनाको ज्यान गएको छ। इलाममको फाकफोकथुङ गाउँपालिकामा सात जना, सूर्योदय  नगरपालिकामा तीन जना, माङ्सेबुङ गाउँपालिकामा दुई जना, माइनगरपालिकामा एक जना र देउमाई नगरपालिकामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उता धनकुटामा पहिराले घर बगाउँदा सात जनाको मृत्यु भएको छ भने उदयपुरमा पहिरामा परी दुई जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बाढी र पहिरामा परी सुनसरीमा पाँच जनाले ज्यान गुमाएका छन् भने मोरङ र भोजपुरमा एक÷ एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ।

प्रदेश १ का धेरै स्थानमा विद्युत् सेवा अवरुद्ध भएकाले सम्पूर्ण विवरण प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम अझै नरोकिएकाले प्रदेश १ का विभिन्न स्थानमा बढी र पहिरो गइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। प्रहरीले वर्षा नरोकिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अपिलसमेत गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ