'कम्युनिस्ट र मदेसवादी दललाई भोट दिएको परिणाम सबैले भोगिरहेका छौँ'
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक १ सोमबार
615
Shares
जनकपुरधाम। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले वीपीको विश्वासलाई डगमगाउन नदिने बताइएका छन् । गृह जिल्ला धनुषाको निर्वाचन क्षेत्र नम्बर १ धनुषा धाममा आयोजित कार्यकर्ता भेलामा नेता निधीले वीपी कोइरालाले २४ वर्षकै उमेरमा आफूलाई नेविसंघको केन्द्रीय सभापति बनाएको स्मरण गर्दै वीपीको त्यो विश्वासलाई डगमगाउन नदिएको बताए ।
उपसभापति निधीले भने ,' २४ वर्षकै उमेरमा नेविसंघको सभापति बन्ने सौभाग्य वीपीले मलाई दिनुभयो। वीपीको त्यो विश्वासलाई डगमगाउन दिएको छैन, उहाँको सपनालाई कमजोर हुन दिँदिन।'
कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले काँग्रेसलाई नयाँ अवस्थामा ल्याउन सभापति बन्न चाहेको जानकारी गराए। उपसभापति निधीले भने ,पुरानो होइन काँग्रेसलाई म नयाँ अवस्थामा ल्याउन चाहेको छु।'
आगामी निर्वाचनमा काँग्रेसलाई बहुमतका साथ जिताउन आफू काँग्रेसको सभापति बन्न चाहेको उनले बताए। मदेसमा जितेको बेला देशमा काँग्रेसको सरकार बनेको बताउँदै उनले त्यसका लागि पनि आफू सभापति बन्न चाहेको जिकिर गरे।
पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका निधीले भने, कम्युनिस्ट र मदेसवादी दललाई भोट दिएको परिणाम सबैले भोगिरहेका छौँ,’ देश र प्रदेश दुवैको हाल बेहाल भएको छ। अब आउने निर्वाचनमा काँग्रेसलाई जिताउने अभियानमा आजैदेखि जुटौँ।’
उपसभापति निधीले भने,‘मदेसमा नेपाली काँग्रेस लगातार किन हारिरहेको छ? वीपीदेखिको अहिलेसम्मको इतिहास हेर्ने हो भने मदेसमा जितेको बेला देशमा काँग्रेसको सरकार बनेको छ,’ उनले भने,‘मदेसमा काँग्रेसलाई जिताउन पनि तपाईँ सभापति बन्नुपर्छ पहाडका साथीहरूले भन्नु भएको छ। त्यसैले पहिले घरबाट समर्थन पाउन चाहेको छु।'