विमलेन्द्र निधीले सार्वजनिक गरे आफ्ना चार कार्ययोजना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
575
Shares
जनकपुर । नेपाली कांग्रेसका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विमलेन्द्र निधीले आफ्ना चार ओटा मुख्य कार्ययोजना सार्वजनिक गरेका छन् ।
शुक्रबार जनकपुरधामस्थित निजी निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता निधीले आफू निर्वाचित भएमा मुख्य चार ओटा कामहरू गर्ने बताए । उनले धनुषाका दक्षिण ग्रामीण भेगमा तीन ओटा प्रसुती अस्पताल र तीन वटा बाल अस्पताल खोल्ने योजना बनाएको जानकारी दिए ।
नेता निधीले धनुषाका दक्षिणी ग्रामीण भेगका सर्वसाधारणहरूलाई सदरमुकाम जनकपुरधाम आएर उपचार गराउने झन्झटलाई अन्त्य गर्नका निम्ति तीन ओटा स्थानमा प्रसुती अस्पताल र तीन ओटा बाल अस्पताल बनाउने योजना ल्याएको बताए ।
त्यस्तै उनले धनुषाका किसानहरुका लागि मल कारखाना खोल्ने जानकारी दिए । उनले किसानहरूको मुख्य समस्या समयमा मल उपलब्ध नहुनु रहेकाले यस क्षेत्रमा एउटा मल कारखाना खोल्ने बताए । उनले यसबाट युवाहरुका लागि रोजगार पनि सृजना हुने बताए ।
त्यस्तै वर्षौंदेखि अलपत्र रहेको श्रीराम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम पनि अगाडि बढाएर सम्पन्न गर्ने योजना उनको रहेको जानकारी दिए । उनले सम्पूर्ण कार्य पूरा भइसके पनि केही कार्यहरुमात्र बाँकी रहेकाले आफू निर्वाचित भए रंगशालाको काम सम्पन्न गर्ने बताए ।
त्यस्तै उनले धनुषाको धनुषाधाममा रहेको धनुष मन्दिरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने आफ्नो योजना रहेको जानकारी दिए । उनले रामायणकालीन इतिहास जीवन्त राख्न धनुष मन्दिरलाई जानकी मन्दिर र अयोध्या जस्तै विकास गर्ने लक्ष्य लिएको बताए ।
उनले धनुषाधाम अन्तराष्ट्रिय पर्यटकहरुको गन्तव्य हुनेमा कुनै शंका नरहेको बताए । नेता निधीले नेपाली कांग्रेसले विगतमा धनुषावासीका लागि गरेको कामहरु यस भेगका जनताले मूल्यांकन गर्ने र फेरि पनि आफूलाई जिताउनेमा विश्वस्त रहेको बताए ।