मनकामनाको विकासका लागि मेरो पहल रहनेछ :मन्त्री श्रेष्ठ
रासस,
प्रकाशित २०७८ असोज २७ बुधबार
920
Shares
दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मनकामना मन्दिरको गुरुयोजना कार्यान्वयनका लागि सरकारले सहयोग गर्ने बताएका छन्।
बडादसैँको आठौँ दिन बुधवार मनकामना मन्दिरको दर्शन गर्न पुगेका मन्त्री श्रेष्ठले मनकामना क्षेत्र विकास समितिका पदाधिकारीसँगको भेटमा सो कुरा बताएका हुन् ।
मनकामना क्षेत्र विकास समितिले तयार पारेको गुरुयोजनाका बारेमा जानकारी लिँदै उनले गुरुयोजनालाई छिटो कार्यान्वयन गर्न आफूले सरकारका तर्फबाट पहल गर्ने बताए । “मनकामना मन्दिरको विकासका लागि व्यक्तिगत र सरकारका तर्फबाट मेरो पहल रहनेछ,” उनले भने ।
सो क्रममा मनकामना क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार जोशीले गुरुयोजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेको मनकामना मन्दिर गत भदौ २३ गतेदेखि खुल्ला गरिएको हो । प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजारौँ भक्तजन बर्सेनि यहाँ पुग्छन् । पूजाआजा गर्दछन्, बलि दिन्छन् र परेवा उडाउँछन् ।