केही दिनदेखि ‘प्यान्डोरा पेपर्स’ र ‘ट्याक्स हेभेन’का विषयहरू बहस र चर्चामा आइरहेका छन्। प्यान्डोरा पेपर्समा ११७ देशका ६०० भन्दा बढी पत्रकारहरू मिलेर २.७४ टेरा बाइट साईजका १.१ करोड कागजात तथा डकुमेन्टहरू सार्वजनिक गरेका छन्। यस पूर्व 'अफसोर लिक' भनेर २५ लाख, 'पानामा पेपर्स' को नाममा १.१५ करोड र 'पाराडाईज पेपर्स' को नाममा १.३४ करोड फाइल तथा डकुमेन्टहरू यसै गरी विवरणहरू सार्वजनिक गरिएको थियो।
यसमा विश्वभरका धनी र शक्तिशाली व्यक्तिहरूको नाम देखिन्छ। विश्वमा धनी मानिएका देश तथा तिनका नागरिक मात्र नभएर नेपाललाई समेत छोएको छ। गैरकानुनी रूपमा आर्जन गरेको धन वा सम्पत्ति लुकाउन सजिलो मानिने मुलुक अर्थात् ट्याक्स हेभेन कन्ट्रीमा धनीहरूले रकम थुपारिरहेको परिचर्चा भइरहन्छ। सम्बन्धित देश वा जुन देशका नागरिक हुन् उनीहरूले राज्यको कानुन छलेर रकम विदेशतिर ओसारिरहेको आरोपसमेत लगाएर चर्चा परिचर्चा गरिन्छ।
यसै सन्दर्भमा नेपालका अरबपति धनीको सूचीमा रहेका उद्योगपति विनोद चौधरी, गोल्छा लगायत समेत यसको आरोपमा मुछिएर चर्चा गरिन्छ। ट्याक्स हेभेन कन्ट्री अर्थात् जहाँ कर दर शून्य बराबर हुन्छ। यसरी करमा छुट हुने र दर्ता तथा नवीकरण शुल्क नगण्य लाग्नेसँगै कम्पनी दर्ता अत्यन्तै छिटो र सहज हुने कारणले अन्तर्राष्ट्रिय छवि बनाएका वा बनाउन खोज्ने विभिन्न देशका सरकार प्रमुखहरू, अन्तर्राष्ट्रिय ख्याति कमाएका उद्यमी व्यवसायीहरू, अन्तर्राष्ट्रिय ख्याति कमाएका चलचित्रकर्मी तथा खेलाडीहरू देखी आईएमएफका प्रमुखले समेत यस्तो देशहरूमा आफ्नो कम्पनी स्थापना गरेको देखिन्छ।
पानामा, लक्जमवर्ग, बर्मुडा, ब्रिटिस भर्जिन आइसल्यान्ड, स्विट्जरल्यान्ड, द नेदरल्यान्ड जस्ता देशहरूले करमा पुरै छुट या नगण्य छुट दिने गरेर विदेशी नागरिक र कम्पनीहरूलाई आकर्षित गर्दछन्। यसरी दर्ता हुने कम्पनीहरू कानुनी रूपमा कारोबार गर्ने पाउने र वैद्य कम्पनीको रूपमा कारोबार गर्दछन्। यसरी वैधतापूर्वक दर्ता हुने र कारोबार गर्ने कम्पनीहरूको बारेमा पनि किन पटक पटक प्रश्न गरिन्छ भन्ने कुराको अध्ययन गर्दा मुख्यतया दुइटा कारणहरू : एक धनी र प्रभावशाली व्यक्तिहरू अझै धनी अनि प्रभावशाली हुँदै जाने अनि कर छुट र दोस्रो धेरै विवरण पेस गर्ने नपर्ने हुँदा यस्तो पैसा अवैध कारोबारमा समेत प्रयोग हुन सक्ने शङ्का गरिन्छ। तर यस्तो कम्पनीहरू संसारभर कारोबार सञ्जाल फैलाएर कारोबार गरिरहेका पाइन्छ। व्यवसायीले त्यस्तो ठाउँमा लगानी गर्नु वा रकम लैजानु व्यापारिक दृष्टिकोणबाट गलत भन्न सकिन्न। तर, उसले कुन माध्यमबाट यसरी लगानी गरिरहेको छ वा रकम लगेको छ भन्ने मुख्य विषय रहन्छ।
उद्योगपति वा व्यापारीले राज्यको कानुनभित्र रहेर आर्जन गरेको धन गैरकानुनी हुँदैन। धन आर्जन गर्दा उसले जुन कानुनको परिधिभित्र रहेर गर्यो विदेश वा अर्को देशमा लगानी गर्दा पनि त्यसको अनुपातमा गरेको हो कि होइन हेर्नुपर्छ। लगानी विविधीकरण गर्ने उद्देश्य वा नाफाको केही हिस्सा अन्यत्र लगानी गरेर आम्दानीको दायर बढाउने योजना बनाउनु औद्योगिक चरित्रभित्रै पर्छ। यसो गर्दा हरेक देशका उद्योगपति कानुनी राज्यको दायरालाई उल्लङ्घन गरेको पाइँदैन। अझ विकसित देशमा त यस्तो अभ्यास विरलै पाइन्छ।
पहिलो कुरा, कमाएको धन विदेश लैजाने भनिरहँदा वा अन्यत्र लगानी गर्ने योजना बनाउँदा त्यो कसैले गलत रूपमा कमाएको भन्ने अर्थ लगाउनु हुँदैन। अर्को कुरा, उसले राज्यको राज्यको कानुनी दायराभित्रबाट सबै काम गरिरहेको हुन्छ भने यसलाई पनि ट्याक्स हेभेनको बाकसभित्र राख्नु सर्वथा गलत हुनसक्छ।
विश्वका धनी व्यक्ति वा उद्योगपतिहरूले के कसरी सम्पत्ति आर्जन गरे र त्यो लगानी बढाउँदै जाँदा कसरी अर्को देशसम्म पुर्याए भन्ने खोजको विषय हुन सक्छ। नेपालको हकमा भने त्यस्तो अभ्यास अहिलेसम्म भएको देखिँदैन। जहाँसम्म चौधरी, गोल्छा र यस्तै अन्य औद्योगिक घरानाका व्यक्तिले त्यसो गरे भन्ने चर्चालाई वस्तुनिष्ठ ढङ्गले गहिरिएर अध्ययन गर्यो भने नतिजा फरक आउन सक्छ।
छिमेकी राष्ट्र भारतका उद्योगी अनिल अम्बानी, गौतम अदानी, खेलाडी सचिन तेन्दुलकर, नायक जैकि श्राफ लगायतका ३८० जनाले ट्याक्स हेभेन मा कम्पनी दर्ता गरेको पाइन्छ, संसारभरबाट फोर्बसमा सूचीकृत १३० जना अरबपतिहरू, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, ब्रिटिस पूर्व प्रधानमन्त्री टोली व्लेयर लगायत पाकिस्तानका ७०० भन्दा बढी व्यवसायी र १६ जना नेपाली उद्यमीहरूको नाम पनि पाण्डोरा पेपर्समा आएको चर्चा छ। यसरी संसारभरका २०० भन्दा बढी देशहरूका नागरिकहरूले २९ हजार भन्दा बढी कम्पनीहरू सञ्चालन गरेको सूची प्यान्डोरा पेपर्सको नाममा सार्वजनिक भएको छ।
यसरी हरेक वर्ष ट्याक्स हेभनमा दर्ता भएका कम्पनीहरू तथा यस्ता कम्पनीका मालिकहरूको सूची निकालिन्छ। यस्तो सूचीमा भएका कम्पनीहरू गैरकानुनी वा लगानी गरिएको रकम अवैध हुने भए, सम्बन्धित देशले कारबाही अगाडि बढाउने अवस्था हुन्थ्यो। यस्ता कम्पनीहरू मध्य अवैध लगानी भएका तथा अवैध कारोबार गर्ने कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याउने सम्भावना हुन्छ भने वैद्य रूपमा स्वीकृति लिई कारोबार गरिरहेका अनि वैधानिक क्षेत्रमा कारोबार गर्ने कम्पनीहरूलाई राज्यले प्रोत्साहन नै गरेको पाइन्छ।
'कालो धन', 'कर छली', र 'गैरकानुनी' शब्दहरू हल्का रूपमा प्रयोग गरेर प्रतिष्ठित व्यक्ति, उद्यमी तथा व्यावसायिक घरानाहरूलाई जोडेर आधा अधुरो समाचार बनाउँदै प्रतिष्ठामा आँच पुर्याउँदा न्याय हुँदैन। सँगै यसरी 'ट्याक्स हेभन' मा गरिएका सबै लगानी सही हुन भन्न पनि सकिँदैन। यस्तो लगानीलाई लगानी गरिएको क्षेत्र, लगानीकर्ताले लगानी गर्दा प्रयोग गरेको श्रोत र पुरा गरेको कानुनी प्रक्रियाको आधारमा विश्लेषण गर्नुपर्छ, धारणा बनाउनु पर्छ र सम्प्रेषण गर्नुपर्छ।
अतः विश्वव्यापी रूपमा आएको चर्चालाई समुद्रमा एक लोटा पानी मिसाएको अर्थमा नहेरी लोटाभित्रको पानीको परिमाणका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ। यसो भन्नुको एउटै मात्र ध्येय यो हो कि, नेपालभित्र नेपालकै उद्योगी व्यापारीले कमाएको धन–सम्पत्ति यहीँको कानुनी परिधि र यसको मौलिकतासँग दाँजेर हेर्नुपर्छ। यही आधारमा गलत र सहीको कित्ताकाट गर्नु उपयुक्त हुन्छ।
कुनै उद्यमी व्यवसायी या लब्ध प्रतिष्ठित व्यक्तिको बारेमा यसरी धारणा बनाउनु पूर्व उक्त व्यक्तिले आफ्नो देशमा गरेको कारोबार, कमाएको ख्याति, अर्थतन्त्रमा गरेको योगदानसँगै राखेर उक्त व्यक्ति वा समूहको बारेमा लेख्न वा बुझ्नुपर्छ। नेपाल जस्तो देशमा हरेक कुराहरूलाई नकारात्मक रूपले प्रचार प्रसार गर्ने काम अझै बढिरहेको बेला उद्यमी व्यवसायीहरूको मनोबल गिर्ने गरी लेख्नु, बोल्नु पूर्व सबै पक्षको जानकारी राख्न उपयुक्त हुन जान्छ।