स्वस्तिक बचत तथा ऋण सहकारीले गर्यो एकल पुरुषलाई सम्मान
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ९ शनिबार
1k
Shares
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य मध्येबाट एकल पुरुसलार्इ सम्मान गरेको छ ।
हाल नेपालको सरकारले एकल महिलालाई मात्र सामाजिक सुरक्षा भत्ता मार्फत र समाजले समेत सहयोग गरिरहँदा स्वस्तिकले भने एकल पुरुषलाई समेत सम्मान गरेको हो । जसरी एकल महिलालाई एक्लो जीवन बिताउन समस्या हुन्छ त्यसरि नै एकल पुरुषलाई समेत जीउन गारो हुने भन्दै संस्थाले नगदसहित सम्मान गरेको संस्थाका अध्यक्ष वेनीबहादुर कार्कीले जानकारी दिए ।
स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको शनिबार २१औं वार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको हो । संस्थाका अध्यक्ष वेनीबहादुर कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा संस्थाकै सभा हलमा साधारण सभा सम्पन्न गरिएको हो ।
सभामा ईश्वरपुर नगरपालिका–६, का वडाध्यक्ष रहमान अन्सारी, सहकारी विभाग प्रदेश २ का शाखा अधिकृत रामपृत यादव, सहकारी बैंक हरिवन शाखाका प्रवन्धक सरोज सापकोटा, ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका प्रवन्धक विनोद कुमार थापाको संचालन तथा सचिव वेचु प्रसाद तिमल्सिनाको स्वागत रहेको कार्यक्रममा कोषाध्यक्ष विष्णुहरि मैनालीले हरहिसाब प्रस्तुत गरेका थिए । गएको असार मसान्तसम्म २८ करोड ९० लाख ५४ हजार १६७ रुपैयाँ कूल कारोवार गरेको संस्थाले गत आर्थिक वर्ष २०७७/०७८ मा ६५ लाख ६६ हजार १०८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको छ ।
संस्थाले यो पटक आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश समेत वितरण गरेको छ । साधारण सभामा हरेक वर्ष झैं उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट ऋणी २ जना, जेहेन्दार विद्यार्थी २ जना, ज्येष्ठ नागरिक १६ जना, एकल महिला ४६ जना, एकल पुरुष १० जना, अपाङ्गता भएका ५ जना सदस्यलाई नगद र सम्मान पत्रसहित सम्मान गरेको छ ।