arrow

सभामुखले वार्ता चाहेनन्, कांग्रेसले अग्रसरता लिनुपर्‍यो: एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
ncp-uml-party-head-office-hq-oli.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा देखिएको गतिरोध अन्त्यका लागि मुख्य जिम्मेवारकर्ता सभामुखले अग्रसरता नलिएको प्रति चिन्ता व्यक्त गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा देखिएको गतिरोधको अन्त्यका लागि सभामुखले आवश्यक राजनीतिक अग्रसरता नदेखाएको बताए ।

‘सभामुखले राजनीतिक रुपमा जुन अग्रसरता लिनु पर्ने हो, उहाँबाट त्यो काम भइरहेको छैन, सभामुखबाट गतिरोध अन्त्यको प्रयास नै भएन,’एमाले प्रमुख सचेतक भट्टराईले हाम्राकुरासँग भने ।

भट्टराईले प्रमुख सत्तारुढ दलको हैसियतले नेपाली कांग्रेसलेसमेत संसदको गतिरोध अन्त्य गर्नका लागि जिम्मेवारी देखाउनु पर्ने बताए ।

‘संसद संचालनका लागि प्रमुख सत्तारुढ दलको हैसियतले नेपाली कांग्रेसलेसमेत सहजीकरण गर्दै अग्रसरता लिनु पर्छ, उहाँहरुले गठवन्धनबाटै सभामुखलाई दबाब दिनु पर्छ,’ भट्टराईले भने ।

गत सोमबार सभामुख अग्निप्रसाद सापकोटाले संसदमा नेकपा एमालेबाट हुँदै आएको अवरोध अन्त्य गर्न भन्दै सर्वदलीय बैठक बोलाएका थिए । तर सो बैठकमा एमालेका नेताहरु भने सहभागी भएनन् । उनीहरुले एमालेसँग सभामुखले छुट्टए छलफल गर्नु पर्ने भन्दै बैठक बहिष्कार गरेका थिए ।

तर सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमालेसँग छुट्टै वार्ता गर्न र सहमतीमार्फत संसद संचालन गर्ने वातावरण बनाउन सहभागी नेताहरुले सभामुखलाई अग्रह गरेका थिए ।

सर्वदलीय बैठक अघि नै सोमबार सभामुख सापकोटासँग एमालेले वार्ताको प्रयास गरेको थियो । तर भट्टराईले फोन गरेर वार्ताका लागि समय मागेको तर सभामुखले समय नदिएको गुनासो गरेका थिए ।

‘राजनीतिक दलबाट एमालेसँग छुट्टै संवाद गर्न उहाँलाई सुझाव दिइएको छ, हामीले पनि छुट्टै संवाद गर्न चाहेका हौ, तर सभामुखले समय दिनु भएन, अहिले पनि अवस्था त्यही छ,’ एमाले प्रमुख सचेतक भट्टराईले भने ।

उनले सभामुखले वार्ता र सहमती नगर्दासम्म एमालेले संसद चल्न नदिनेसमेत दाबी गरे । सभामुखको सचिवालयका अनुसार सभामुख सापकोटाले एमालेसँगको संवादका लागि कुनै तयारी गरेका छैनन् ।

एमाले आफ्नो दलले कारवाही गरेका १४ सांसदको कारवाहीको सूचना सभामुखले टाँस्नु पर्ने माग गर्दै २३ भदौबाट नै संसद अवरोध गर्दै आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ