arrow

नेपालको दल नेकपा समाजवादी, महन्थको जसपा लोकतान्त्रिक 

निर्वाचन आयोग जाने तयारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २ बुधबार
Madhav-mahanta.jpg

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूह सरकारले मंगलबार ल्याएको दल विभाजन सम्वन्धि अध्यादेशको पर्खाइमा थिए । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएलगत्तै उनीहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा जुटेका हुन् ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत राजनीतिक दल सम्वन्धी ऐन २०७३ मा संसोधन गर्दै केन्द्रीय समिति वा संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशत सदस्य संख्या पुर्याए दल विभाजन गर्न सकिने गरी अध्यादेश ल्याएको थियो । सो अध्यादेश अहिले राष्ट्रपतिबाट जारी भइसकेको छ । 

राष्ट्रपति कार्यालयले भने बुधबार मध्यान्नसम्म पनि सरकारले सिफारिस गरी पठाएको अध्यादेश अध्ययनकै क्रममा रहेको बताएको थियो । तर बुधबार नै अध्यादेश जारी भइसकेको छ । 

नेपालको दल नेकपा (समाजवादी)

नेकपा एमालेका नेता माधव नेपाल समूहले राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भए लगत्तै दल दर्ता गर्ने तयारी गरेको छ । त्यसका लागि नेपाल समूहले आफ्नो तयारीलाई तिव्रता दिएको छ ।

उच्च स्रोतका अनुसार नयाँ पार्टी दर्ता गर्ने प्रक्रियाका लागि बेदुराम भुसाल, डा.विजय पौडेल तथा कानुन व्यवसायी गोविन्द बन्दीलाई जिम्मेवारी दिएको छ । ती नेताहरु अहिले सक्रिय भएर दल दर्ताका लागि आवश्यक पर्ने कागजात तयार गरिरहेका छन् ।

नेपाल समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा (समाजवादी) राख्ने तयारी गरेको कागजपत्र तयारीकै क्रममा रहेका एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार निर्वाचन चिन्ह भने उदाउँदो सूर्य वा सूर्य भित्र हंसिया हतौडा राख्ने गरी तयारी भइरहेको छ । यस्तै पार्टीको सांगठनिक संरचनामा तत्काल अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने तयारी गरिएको छ । 

महन्थको जसपा (लोकतान्त्रिक)

सरकारले दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याइदिएपछि जसपाको महन्थ ठाकुर समूह खुसी छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि सो समूह अप्ठ्यारोमा परेको थियो । लामो राजनीतिक जीवन विताएका ठाकुरको राजनीतिक जीवन नै ‘घर न घाट’को भएको थियो ।

सरकारले अध्यादेश ल्याएपछि महन्थ समूह पनि अध्यादेश जारी भए लगत्तै निर्वाचन आयोग जाने गरी पर्खाइमा छ । सो समूहले नयाँ दलको नाम जसपा (लोकतान्त्रिक) राख्ने तयारी गरिरहेको छ ।

‘आवश्यक कागजात तयार गर्दै छौं, अध्यादेश जारी हुनेबित्तिकै हामी नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जान्छौं, दलको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक)राख्ने सहमति भइसकेको छ चुनाव चिन्ह साइकल रहनेछ,’ जसपा नेतृ चन्दा चौधरीले भनिन् । नयाँ दर्ता हुने दलमा भने एकल अध्यक्ष प्रणाली हुने उनले जानकारी दिइन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश अध्ययनका क्रममा रहेकाले मंगलबार जारी गर्न नभ्याइएको र बुधबार जारी हुने सम्भावना रहेको बताए ।

अध्यादेश जारी गरेलगत्तै राजपत्रमा प्रकाशित भएपछि त्यसले कानुनी मान्यता पाउने गर्छ । र त्यसपछि मात्रै कुनै पनि दलका तोकिएको सदस्य वा सांसदको संख्या पुर्याउने समूहले अलग्गै दल दर्ता गर्न पाउँछन् ।

यसअघि भने राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल त्याग गरेर नयाँ दल खोल्नका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य रहने व्यवस्था रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ